अछाम- सुदूरपश्चिमको दुर्गम क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको बयालपाटा प्रादेशिक अस्पतालमा अब 'रक्त सञ्चार केन्द्र' (ब्लड बैंक) र 'ट्रमा युनिट' सेवा सुरु भएको छ। शुक्रबार एक विशेष समारोहका बीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले दुवै सेवाको औपचारिक उद्घाटन गर्नुभयो।
दुर्गम पहाडी जिल्लाहरूमा रगतको समयमै व्यवस्थापन हुन नसक्दा सुत्केरी महिला तथा गम्भीर बिरामीहरूले अकालमै ज्यान गुमाउनु पर्ने अवस्था थियो। अब अस्पतालमै रक्त सञ्चार केन्द्र स्थापना भएपछि आवश्यक रगतको 'स्टक' व्यवस्थापन गर्न सहज हुने अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालका कार्यकारी निर्देशक डा. मन्दिप पाठकका अनुसार शल्यक्रियाका क्रममा हुने रगतको चरम अभावलाई टार्न यो केन्द्र कोसेढुङ्गा सावित हुनेछ। "हामीले बिरामीलाई रगत खोज्न भौतारिनु पर्ने अवस्थाको अन्त्य गर्न यो पहल गरेका हौं," डा. पाठकले भन्नुभयो।
बढ्दो चोटपटकका बिरामीलाई 'ट्रमा युनिट'
पछिल्लो समय पहाडी क्षेत्रमा सडक दुर्घटना, रुखबाट खस्ने र भिरबाट लडेर हुने चोटपटकका बिरामीको चाप बढ्दो छ। हाडजोर्नी र नशा सम्बन्धी जटिल समस्या भएका बिरामीलाई लक्षित गरी अस्पतालले छुट्टै 'ट्रमा युनिट' सञ्चालनमा ल्याएको हो।
शुक्रबारबाटै सेवा प्रारम्भ
कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले बयालपाटा अस्पताललाई साधन-स्रोत सम्पन्न बनाउन प्रदेश सरकारले सधैं प्राथमिकता दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । दुवै सेवा शुक्रबारबाटै पूर्ण रूपमा सञ्चालनमा आएका छन्।
यो नयाँ सेवाको विस्तारले अछाम, बाजुरा र डोटी सहित सुदुर पहाड र कर्णाली प्रदेशका पहाडी जिल्लाका नागरिकहरू लाभान्वित हुने अपेक्षा गरिएको छ।