काठमाडौं - धौलागिरि प्रादेशिक अस्पतालले आधुनिक तथा सुरक्षित शल्यक्रिया सेवातर्फ महत्वपूर्ण उपलब्धि हासिल गर्दै विभिन्न प्रकारका ल्याप्रोस्कोपिक (दूरबिन प्रविधिबाट गरिने) शल्यक्रिया सेवा नियमित रूपमा सञ्चालन गरिरहेको जनाएको छ।
अस्पतालका अनुसार महिलासम्बन्धी विभिन्न रोग तथा जटिल समस्याको उपचार अत्याधुनिक ल्याप्रोस्कोपी प्रविधिमार्फत भइरहेको छ। हाल अस्पतालमा टोटल ल्याप्रोस्कोपिक हिस्टेरेक्टोमी (पाठेघर निकाल्ने शल्यक्रिया), एक्टोपिक गर्भावस्थाको शल्यक्रिया, डिम्बाशयको सिस्ट तथा ट्युमरको शल्यक्रिया, ल्याप्रोस्कोपिक ट्युबल लिगेसन (स्थायी परिवार नियोजन) तथा डायग्नोस्टिक ल्याप्रोस्कोपी सेवा उपलब्ध रहेको अस्पतालले जनाएको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर किरण तिवारीले विगत केही वर्षदेखि अस्पतालमा आधुनिक ल्याप्रोस्कोपिक शल्यक्रिया सेवा नियमित रूपमा सञ्चालन हुँदै आएको जानकारी दिए ।
महिलारोग विशेषज्ञ डाक्टर विजय ओझाको नेतृत्वमा महिलासम्बन्धी विभिन्न जटिल रोगहरूको दूरबिन प्रविधिबाट सफल शल्यक्रिया भइरहेको अस्पतालले जनाएको छ। उनका अनुसार यस सेवाले बागलुङ तथा धौलागिरि क्षेत्रका बिरामीलाई आफ्नै प्रदेशमै गुणस्तरीय उपचार उपलब्ध गराउँदै पोखरा र काठमाडौंजस्ता उच्च केन्द्रमा रिफर गर्नुपर्ने अवस्थालाई उल्लेखनीय रूपमा कम गरेको छ।
चिकित्सकहरूका अनुसार ल्याप्रोस्कोपिक शल्यक्रिया सानो प्वाल बनाएर गरिने आधुनिक प्रविधि भएकाले बिरामीलाई कम पीडा हुने, कम रगत बग्ने तथा छिट्टै निको हुने फाइदा हुन्छ। यसले बिरामीको अस्पताल बसाइ छोटो हुने र उपचारपछि छिटो सामान्य जीवनमा फर्किन सहयोग पुग्ने बताए ।
दूरबिन प्रविधिबाट गरिने शल्यक्रिया टिमवर्कको परिणाम भएको उल्लेख गर्दै डा. ओझाले आवश्यक उपकरण, एनेस्थेसियोलोजिस्टको सेवा, सघन उपचार कक्ष (आईसीयू), सक्षम शल्यचिकित्सक र प्रभावकारी नर्सिङ केयरका कारण यस्तो सेवा सम्भव भएको बताए।
मेडिकल अधिकृत डाक्टर सन्दिप केसी का अनुसार आधुनिक प्रविधियुक्त यस्ता शल्यक्रियाले बिरामीलाई कम जोखिम हुने मात्र नभई स्वास्थ्यकर्मीलाई समेत नयाँ सीप र अनुभव हासिल गर्ने अवसर प्रदान गरिरहेको छ।
अस्पताल प्रशासन प्रमुख बिपिन पुन ले हालसम्म दूरबिन प्रविधिबाट पाठेघरको शल्यक्रिया, एक्टोपिक गर्भावस्थाको शल्यक्रिया, डिम्बाशयको सिस्ट तथा ट्युमरको शल्यक्रिया, स्थायी बन्ध्याकरण तथा डायग्नोस्टिक ल्याप्रोस्कोपी सफलतापूर्वक सम्पन्न हुँदै आएको जानकारी दिए।