काठमाडौं - फिन्तारा सोलुसन्स प्रा. लि. अन्तर्गत सञ्चालित नेपालको अग्रणी डिजिटल ईएमआई एग्रिगेसन प्लेटफर्म ‘वान बीएनपीएल’ ले काठमाडौंस्थित प्रतिष्ठित मल्टिस्पेसियालिटी स्वास्थ्य संस्था ब्लु क्रस हस्पिटलसँग रणनीतिक सहकार्य गरेको छ।
यस सहकार्यसँगै वान बीएनपीएलका साझेदार बैंकका क्रेडिट कार्डवाहकहरूले ब्लु क्रस हस्पिटलमा गरिएको उपचारको बिल शून्य ब्याजदरमा मासिक किस्ताबन्दी गर्न सक्ने भएका छन्।
सम्झौताअनुसार बिरामीहरूले ५ हजार रुपैयाँ वा सोभन्दा माथिको अस्पताल बिललाई ३ देखि १८ महिनासम्मको अवधिमा शून्य ब्याजदरमा सहज रूपमा किस्तामा रूपान्तरण गर्न सक्नेछन्। सम्पूर्ण प्रक्रिया डिजिटल, तत्काल र कागजरहित हुने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यो सुविधा कुनै पसलमा क्रेडिट कार्ड प्रयोग गरी किनमेल गरेजस्तै सरल हुनेछ। सहकार्यको मुख्य उद्देश्य गुणस्तरीय स्वास्थ्य सेवामा आर्थिक पहुँच विस्तार गर्नु रहेको बताइएको छ।
ब्लु क्रस हस्पिटलकी वित्तीय तथा प्रशासन प्रमुख सतीदेवी गौतम सिंहले समयमै उपचार लिन आर्थिक अवस्था बाधक बन्न नहुने बताइन्।
“ब्लु क्रस हस्पिटलमा हाम्रो उद्देश्य सधैं बिरामीलाई गुणस्तरीय तथा किफायती स्वास्थ्य सेवा प्रदान गर्नु हो,” उनले भनिन्।
फिन्तारा सोलुसन्स प्रा. लि.का आशिष के. शर्माले ब्लु क्रस हस्पिटलसँगको सहकार्यलाई महत्वपूर्ण उपलब्धिका रुपमा व्याख्या गरे। “स्वास्थ्य उपचारका खर्च प्रायः आकस्मिक र अत्यावश्यक हुन्छन्,” उनले भने, “उपचारस्थलमै तत्काल शून्य ब्याजदरको किस्ता सुविधा उपलब्ध गराएर हामी बिरामीलाई आर्थिक चिन्ताभन्दा स्वास्थ्यमा केन्द्रित हुन सहयोग गर्दैछौं। यो फिनटेकमार्फत वास्तविक मानवीय समस्या समाधानको उदाहरण हो।”
सम्झौताअनुसार ५ हजार रुपैयाँभन्दा माथिका अस्पताल बिलमा ० प्रतिशत ब्याजदरमा किस्ता सुविधा उपलब्ध हुनेछ। ग्राहकले ३, ६, ९, १२, १५ र १८ महिनासम्मको लचिलो किस्ता अवधि छनोट गर्न सक्नेछन्। यो सुविधा वान बीएनपीएलका सबै साझेदार बैंकका क्रेडिट कार्डवाहकका लागि लागू हुनेछ।
वान बीएनपीएल नेपालको डिजिटल ईएमआई एग्रिगेसन प्लेटफर्म हो, जसले क्रेडिट कार्डमार्फत विभिन्न खरिद तथा सेवामा डिजिटल ईएमआई रूपान्तरण सुविधा प्रदान गर्दै आएको छ। हाल प्लेटफर्ममा साझेदार बैंकसँगै १०० भन्दा बढी व्यापारी संस्था आबद्ध छन्।
यसको नेटवर्कमा स्वास्थ्य सेवा, रिसोर्ट तथा आतिथ्य, खुद्रा व्यापार, मोबाइल ब्रान्ड र टेक ग्याजेटलगायत विभिन्न क्षेत्र समावेश छन्, जहाँ ३ देखि १८ महिनासम्मको ब्याजमुक्त किस्ता सुविधा उपलब्ध छ।
सन् १९९१ मा स्थापित ब्लु क्रस हस्पिटल नेपालका अग्रणी स्वास्थ्य संस्थामध्ये एक हो। तीन दशकभन्दा बढी समयदेखि हस्पिटलले आधुनिक, उच्च गुणस्तरीय तथा किफायती स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।