काठमाडौं- सरकारले देशव्यापी रूपमा सञ्चालन गर्ने घोषणा गरेको 'सरसफाइ सप्ताह २०८३' को आज स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले औपचारिक शुभारम्भ गरेकी छिन्। आज बिहान वीर अस्पताल परिसर पुगेकी मन्त्री मेहताले आफैँ कुचो लिएर फोहोर बढार्दै अभियानको उद्घाटन गरेकी हुन्।
सो अवसरमा उनलाई स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटा लगायतका उच्च पदस्थ अधिकारी र अस्पतालका कर्मचारीहरूले सरसफाइमा साथ दिएका थिए। सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउने सरकारको लक्ष्य अनुरूप आजदेखि जेठ १ गतेसम्म देशभरका सबै सरकारी निकायहरूमा यो अभियान सञ्चालन हुनेछ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको 'सरसफाइ सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन, २०८३' बमोजिम सुरु भएको यस अभियानले न्यून लागतमा सरकारी कार्यालयहरूको स्वरूप बदल्ने लक्ष्य राखेको छ। मार्गदर्शन अनुसार अब सबै संघीय, प्रादेशिक र स्थानीय तहका कार्यालयहरूले आ-आफ्नो परिसरमा नियमित सरसफाइ, शौचालयको स्तरोन्नति र फोहोरको वर्गीकरण गर्नुपर्नेछ। विशेषगरी सेवाग्राहीको बढी चाप हुने वीर अस्पताल जस्ता क्षेत्रमा शौचालयलाई महिला तथा अपाङ्गतामैत्री बनाउने, हात धुने स्थानमा साबुनको व्यवस्था गर्ने र ढल निकासलाई व्यवस्थित बनाउने कार्यलाई प्राथमिकता दिइनेछ।
अभियानलाई केवल साताव्यापी कार्यक्रममा मात्र सीमित नराखी दिगो बनाउन प्रत्येक निकायमा 'सरसफाइ सम्पर्क व्यक्ति' तोक्ने र मासिक रूपमा स्व-मूल्यांकन गर्ने प्रणाली समेत विकास गरिएको छ। कार्यालय परिसरको १०० मिटर वरिपरिसम्मको क्षेत्र सफा राख्नुपर्ने, अव्यवस्थित तार र पुराना सामान हटाउनुपर्ने तथा हेल्प डेस्कमार्फत सेवाग्राहीलाई सम्मानित महसुस गराउनुपर्ने प्रावधान मार्गदर्शनमा उल्लेख छ। सरकारी निकायहरूमा स्वच्छ र सुरक्षित कार्य वातावरण कायम गर्न सुरु गरिएको यो अभियानले कर्मचारीको कार्यक्षमता र सेवाग्राहीको सन्तुष्टिमा वृद्धि गर्ने विश्वास लिइएको छ।