काठमाडौं- सरकारी मापदण्डविपरीत व्यक्तिगत रूपमा सवारी साधन प्रयोग गर्दै आएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्तर्गतका ९२ जना अधिकारीहरूको सवारी सुविधा खोसिएको छ। सवारी साधन उपलब्ध गराउनु पर्ने पदाधिकारी भन्दा तल्लो तहका कर्मचारी र पदाधिकारीले एकल प्रयोग (Personal Use) गरिरहेका गाडीहरूलाई मन्त्रालयको पुलमा फिर्ता गरिएको हो।
सरकारी खर्च कटौती र सवारी साधनको दुरुपयोग रोक्ने सरकारी नीतिअनुसार विभिन्न मन्त्रालय र निकायहरूबाट सवारी साधन फिर्ता गर्ने क्रममा स्वास्थ्य क्षेत्रबाट ठूलो संख्यामा गाडीहरू तानिएका हुन्।
प्राप्त विवरणअनुसार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र यस अन्तर्गतका विभाग, केन्द्र तथा आयोजनाहरूबाट कुल ९२ वटा सवारी साधन फिर्ता भएका छन्। यो संख्या अन्य मन्त्रालयहरूको तुलनामा उच्च मध्येको एक हो।
तथ्यांकअनुसार ३४ वटा विभिन्न मन्त्रालय तथा सरकारी निकायहरूबाट कुल ७०१ वटा सवारी साधन मन्त्रालयको पुलमा फिर्ता गरिएका छन्।