काठमाडौं- बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी जेठ ८ गतेदेखि साताको दुई दिन सार्वजनिक बिदा लागू हुने भएको छ।
प्रतिष्ठानका प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठले जारी गरेको सूचनाअनुसार नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको परिपत्रपछि प्रतिष्ठानले पनि शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको हो।
मिति २०८२ चैत २२ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सरकारी कार्यालयमा लागू गरिएको दुई दिने सार्वजनिक बिदा व्यवस्थालाई प्रतिष्ठानले समेत कार्यान्वयन गर्न लागेको जनाएको छ।
प्रतिष्ठानका अनुसार अब प्रत्येक शनिबार र आइतबार अस्पतालतर्फको अन्तरङ्ग सेवा तथा आकस्मिक सेवा बाहेक बहिरङ्ग सेवा (ओपीडी), प्रशासनिक तथा शैक्षिक कार्यालय बन्द रहनेछन्।
यसअघि शुक्रबार आधा दिन मात्र सञ्चालन हुँदै आएका अस्पताल सेवा तथा कार्यालय भने अब अन्य कार्यदिनसरह पूर्ण समय सञ्चालन हुने प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानले नयाँ व्यवस्था मिति २०८३ जेठ ८ गतेदेखि लागू हुने जानकारी दिएको छ।