काठमाडौं- नेपाल चिकित्सक संघले विदेशी नागरिकता लिएका गैरआवासीय नेपाली (एनआरएन) चिकित्सकहरूको दर्ता खारेज गर्ने नेपाल मेडिकल काउन्सिल को निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संघले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा विदेशमा रहेका नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीलाई नेपाल फर्किएर आफ्नो ज्ञान, सीप र अनुभव देशको स्वास्थ्य क्षेत्रको विकासमा उपयोग गर्न प्रोत्साहन गर्नुपर्ने अवस्थामा दर्ता खारेज गर्ने निर्णय अन्यायपूर्ण रहेको उल्लेख गरेको छ।
संघका अनुसार एनआरएन चिकित्सकहरूले नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्। यस्तो अवस्थामा विदेशी नागरिकता लिएको आधारमा चिकित्सकको नाम दर्ता खारेज गर्नु चिकित्सकहरूको आत्मसम्मान र व्यक्तिगत स्वतन्त्रतामाथिको हस्तक्षेप भएको ठहर संघले गरेको छ।
संघले 'एकपटक नेपाली सधैं नेपाली' भन्ने भावनाअनुसार विदेशमा रहेका नेपाली चिकित्सकको दर्ताका लागि नेपाल मेडिकल काउन्सिलमा अनलाइन पोर्टलको व्यवस्था कायम रहेको स्मरण गराउँदै सोही प्रक्रिया निरन्तरता दिन माग गरेको छ।
साथै संघले उक्त निर्णय तत्काल फिर्ता लिन तथा विद्यमान नियम र कानुनअनुसार दर्ता प्रक्रिया अघि बढाउन नेपाल मेडिकल काउन्सिल र सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।