काठमाडौं- सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने घोषणा गरेको छ। आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा स्वास्थ्य बीमालाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यसहित पुनर्संरचना गरिने उल्लेख गरिएको हो।
संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै रामचन्द्र पौडेलले पुनर्संरचना गरिने बताएका हुन्। सेवाग्राहीले सहज, गुणस्तरीय र विश्वसनीय स्वास्थ्य सेवा पाउने गरी कार्यक्रमलाई सुधार गर्नुपर्ने माग बढिरहेको छ।
हालको स्वास्थ्य बीमा कार्यक्रममा सेवा प्रवाह प्रभावकारी नभएको, अस्पतालहरूले बिरामीलाई आवश्यक सेवा दिन आनाकानी गर्ने, औषधि अभाव रहने तथा दाबी भुक्तानी ढिलो हुनेलगायत गुनासो बढिरहेका छन्। कतिपय नागरिकले बीमा शुल्क तिरे पनि अपेक्षित सेवा नपाएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्।
सरकारले यस्ता समस्यालाई सम्बोधन गर्दै स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो र परिणाममुखी बनाउने संकेत गरेको छ।