काठमाडौं- सरकारले रोग निगरानी तथा नियन्त्रणलाई प्रभावकारी बनाउन ‘सेन्टर फर डिजिज कन्ट्रोल’ स्थापना गर्ने घोषणा गरेको छ। आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा सार्वजनिक स्वास्थ्य प्रणाली सुदृढ गर्न विभिन्न नयाँ कार्यक्रम अघि सारिएको हो।
संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै रामचन्द्र पौडेल ले रोग नियन्त्रण, स्वास्थ्य सेवा गुणस्तर सुधार तथा मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि विशेष कार्यक्रम सञ्चालन गरिने जानकारी दिएका हुन्।
सरकारले स्वास्थ्य संस्थाको सेवा गुणस्तर मापन तथा नियमनका लागि राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गर्ने घोषणा गरेको छ। त्यस्तै संघीय तहमा राष्ट्रिय जैविक अध्ययन प्रयोगशाला स्थापना गरी रोग अनुसन्धान तथा परीक्षण प्रणालीलाई सुदृढ बनाइने उल्लेख गरिएको छ।
नीति तथा कार्यक्रममा क्यान्सरलगायत नसर्ने रोग नियन्त्रणका लागि जीवनशैलीमा आधारित कार्यक्रम लागू गरिने पनि जनाइएको छ। स्वस्थ खानपान, नियमित व्यायाम र सचेतनामूलक अभियानमार्फत नागरिकको स्वास्थ्य सुधार गर्ने लक्ष्य सरकारले लिएको छ।
यस्तै सरकारले राष्ट्रिय मानसिक स्वास्थ्य नीति कार्यान्वयनमा ल्याउने तथा योग र ध्यानमा आधारित स्वास्थ्य प्रवर्द्धन कार्यक्रम विस्तार गर्ने घोषणा पनि गरेको छ।