काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस ले प्रधानमन्त्री बालेन शाहको स्वास्थ्य परीक्षण गरी त्यसबारे संसद्लाई जानकारी गराउन सरकारसँग माग गरेको छ।
मंगलबार प्रतिनिधिसभा बैठकमा पार्टीका तर्फबाट धारणा राख्दै संसदीय दलका नेता भीष्मराज आङ्देम्बे ले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे स्पष्ट जानकारी दिन आग्रह गरेका हुन्।
उनले सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल ले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री शाह उठेर बाहिरिएको घटनाले संसद् र देशको गरिमामाथि प्रश्न उठेको टिप्पणी गरे।
'प्रधानमन्त्रीले अहंकार र अमर्यादित व्यवहार देखाउनु दुर्भाग्यपूर्ण हो। उहाँको व्यवहारले जनताको मन कुँडिएको छ, देशको शिर झुकेको छ,' आङ्देम्बेले भने।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह ले सामाजिक सञ्जालमार्फत स्वास्थ्य समस्याका कारण प्रधानमन्त्री बीचमै बाहिरिएको बताएका थिए। उक्त स्पष्टीकरण केहीबेरमै हटाइएको भन्दै आङ्देम्बेले त्यसबारे पनि प्रश्न उठाए।
'अचानक स्वास्थ्य अवस्था गम्भीर बनेर उहाँ बाहिरिनुभएको हो भने वास्तविक अवस्था के हो भन्नेबारे जानकारी दिनुपर्छ,' उनले भने।
आङ्देम्बेले प्रधानमन्त्रीको तत्काल स्वास्थ्य परीक्षण गरी संसद्लाई जानकारी गराउन सरकारसँग आग्रह गरे। 'प्रधानमन्त्री अब केवल रास्वपाको मात्रै होइन, सबैको साझा सम्पत्ति हो। उहाँको स्वास्थ्यप्रति हाम्रो पनि चासो र चिन्ता छ,' उनले बताए।