काठमाडौं– अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा नर्भिक इन्टरनेशनल हस्पिटलले ४ जना उत्कृष्ट नर्सिङ कर्मचारीलाई ‘डेजी अवार्ड’ र अन्य २७ जना कर्मचारीलाई सम्मान गरेको छ।
अस्पतालको सेवाप्रवाहमा नर्सिङ र पारामेडिकल कर्मचारीले महत्वपूर्ण योगदान पुर्याउँदै आएकाले अन्तर्राष्ट्रिय नर्स दिवसको अवसर पारेर उनीहरुलाई लक्षित गर्दै अवार्ड तथा सम्मान कार्यक्रम आयोजना गरिएको हो।
नर्भिक अस्पतालले अमेरिकास्थित डेजी फाउन्डेसनसँगको सहकार्यमा अस्पतालका ४ जना नर्सलाई ‘डेजी अवार्ड’ प्रदान गरेको हो। अवार्ड पाउनेहरुमा सम्झाना तामाङ, नीलीमा श्रेष्ठ, अञ्जली गोले र रोनिशा पाण्डे रहेका छन्। उनीहरुलाई अवार्ड र सम्मानपत्र प्रदान गरिएको अस्पतालले जनाएको छ।
अस्पतालले उत्कृष्ट नर्स छनोटका लागि केही समयअघि मनोनयन प्रक्रिया खुला गरेको थियो। बिरामी तथा बिरामीका आफन्त, सहकर्मी नर्स, चिकित्सक र अन्य कर्मचारीले आफूलाई उत्कृष्ट लागेका नर्सलाई मनोनयन गर्न सक्ने व्यवस्था गरिएको थियो। मनोनयनमा परेकामध्ये उत्कृष्ट १० भित्र पर्न सफल अन्य ६ जना नर्सलाई पनि सम्मान गरिएको छ। सम्मानित हुनेहरुमा सिर्जना धामी, सृजना धौलाकोटी, उषा पन्त, सदिक्षा भट्टराई, वर्षा मैनाली र रुक्साना राई महर्जन रहेका छन्।
नर्सहरुको सेवाभावको कदर गर्दै उनीहरुको दक्षतालाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउने उद्देश्यले डेजी फाउन्डेसनसँग सहकार्य गरिएको अस्पतालले जनाएको छ। डेजी फाउन्डेसनमा हाल ४६ देशका ७ हजार ९ सयभन्दा बढी स्वास्थ्य संस्था आबद्ध रहेका छन्।
कार्यक्रममा अस्पतालका निर्देशक मेघा चौधरीले नेपालमै पहिलोपटक नर्भिकले डेजी अवार्ड सुरु गरेको बताइन्। उनले डेजी अवार्डलाई नर्सहरुको करुणामय सेवाको सम्मानका रुपमा व्याख्या गर्दै नर्सिङ टोलीप्रति प्रेम, सम्मान र गर्व व्यक्त गरिन्।
अस्पतालकी नर्सिङ प्रमुख सरिता श्रेष्ठले डेजी अवार्ड नर्सहरुको करुणा, समर्पण, उत्कृष्ट सेवा र मानवीय भावनाको सम्मान भएको बताइन्।
स्वास्थ्य मन्त्रालयको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी वरिष्ठ अस्पताल नर्सिङ प्रशासक बाला राईले बिरामी सेवामा नर्सहरुको भूमिका महत्वपूर्ण रहेको बताइन्। उनले सेवा मात्र नभई व्यावसायिकतालाई पनि सँगै अघि बढाउनुपर्ने धारणा राखिन्। केही समयअघि नर्सहरुको आन्दोलन हुँदा पारिश्रमिकको विषय सम्बोधन गर्ने पहिलो अस्पताल नर्भिक भएको पनि उनले बताइन्।
नर्सिङ एसोसिएसन अफ नेपालकी अध्यक्ष प्राध्यापक चन्द्रकला शर्माले नर्सहरुलाई प्रोत्साहन गर्न नर्भिकले डेजी अवार्ड सञ्चालन गरेकोमा खुसी व्यक्त गरिन्। उनले नर्भिक अस्पताल नर्सहरुका लागि आदर्श अस्पतालका रुपमा स्थापित हुने अपेक्षा व्यक्त गरिन्।
२१ जना नर्स तथा पारामेडिकल कर्मचारी पनि सम्मानित
अन्तर्राष्ट्रिय नर्स दिवसकै अवसरमा नर्भिक अस्पतालले १० वर्षभन्दा बढी समयदेखि निरन्तर कार्यरत २१ जना नर्सिङ तथा पारामेडिकल कर्मचारीलाई पनि सम्मान गरेको छ। सम्मानित हुनेहरुमा बुद्धिमाया बम्जन, विनिता गिरी, मेलिशा मलेकु, सैलिना श्रेष्ठ, मनिता महर्जन, सचिन खत्री, विनोद थापा, रञ्जिता लिम्बु, सुष्मा श्रेष्ठ, सविना केसी, शिला सिल्पकार नकर्मी, साधना श्रेष्ठ, रामबाबु ठाकुर, अर्विन्द कुमार शाह, कविना शाही, केशवराज शर्मा खनाल, इश्वर गौतम, कृष्णाकुमारी श्रेष्ठ, जानुका पन्त, मीनाकुमारी उपाध्याय र सरीता रेग्मी शर्मा रहेका छन्।
उनीहरु १० वर्षदेखि २५ वर्षभन्दा बढी समयसम्म नर्भिकमा कार्यरत कर्मचारी रहेको अस्पतालले जनाएको छ। सम्मानित कर्मचारीहरुले नर्भिकलाई आफ्नो दोस्रो घर मानेर लामो समयदेखि बिरामी सेवामा समर्पित रहेको बताएका छन्। आफ्नो कामको सही मूल्यांकन गर्दै अस्पतालले सम्मान गरेकोमा खुसी लागेको उनीहरुको भनाइ छ।
अस्पतालका अनुसार यस्तो सम्मानले नर्सिङ तथा पारामेडिकल कर्मचारीको मनोबल बढाउने तथा कार्यक्षमतामा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
यस्तै, सोही समारोहमा नर्भिक कलेज अफ हेल्थ साइन्सेज एण्ड टेक्नोलोजिजका उत्कृष्ट नतिजा ल्याउने २ जना विद्यार्थीलाई पनि सम्मान गरिएको छ। सम्मानित हुनेहरुमा नर्सिङ कलेजकी टपर डिका बस्नेत र मौनता पोखरेल रहेका छन्।