काठमाडौं- मिर्गौला प्रत्यारोपण गराएका नेपाली खेलाडी हरिनारायण शर्माले थाइल्याण्डको बैंककमा सम्पन्न दोस्रो पेटान्क ट्रान्सप्लान्ट एसियन ओपन च्याम्पियनसिप २०२६ मा एक स्वर्ण र एक रजत पदक जितेका छन्।
अप्रिल २९ देखि मे ३ सम्म सञ्चालन भएको प्रतियोगितामा ९ देशका ८५ जना प्रत्यारोपण खेलाडीहरूको सहभागिता रहेको थियो। प्रतियोगिताले अंग प्रत्यारोपणपछि पनि स्वस्थ, सक्रिय र अर्थपूर्ण जीवन बाँच्न सकिन्छ भन्ने सन्देश दिएको आयोजकले जनाएको छ।
४८ वर्षीय हरिनारायण शर्माले सन् २००७ मा मिर्गौला प्रत्यारोपण गराएका थिए। प्रत्यारोपणपछि पनि खेलकुदमा सक्रिय रहँदै उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको नाम उच्च बनाएका हुन्।
प्रतियोगितामा उनले पुरुष सिंगल्स (नेसन्स ग्रुप) तर्फ स्वर्ण पदक जिते भने मिश्रित डबल्स (नेसन्स ग्रुप) मा थाइल्याण्डका लङलोम निम्थोङखामसँग मिलेर रजत पदक हात पारे।
प्रतियोगितामा अस्ट्रेलिया, भुटान, चीन, हङकङ, हंगेरी, भारत, मलेसिया, नेपाल र थाइल्याण्डका खेलाडी सहभागी थिए।
शर्माको उपलब्धिलाई केवल खेलकुदको सफलता मात्र नभई अंगदान र प्रत्यारोपणबारे जनचेतना फैलाउने महत्वपूर्ण सन्देशका रूपमा हेरिएको छ। उनका अनुसार प्रत्यारोपणपछि पनि मानिसले नयाँ जीवन, नयाँ सपना र समाजका लागि सक्रिय योगदान दिन सक्छन्।
उनी लामो समयदेखि मिर्गौला स्वास्थ्य तथा अंगदान सचेतना अभियानमा सक्रिय छन्। सन् २०१० मा उनले नेपालमै पहिलो पटक ‘नेपाल ट्रान्सप्लान्ट गेम्स’ र ‘किड्नी वाक’ अभियान सुरु गरेका थिए। हाल उनी नेपाल ट्रान्सप्लान्ट गेम्स एसोसिएसनका महासचिव तथा वर्ल्ड ट्रान्सप्लान्ट गेम्स फेडेरेसनका टिम म्यानेजरको रूपमा कार्यरत छन्।