काठमाडौं- डेन्टल साइन्स हाइजेनिष्ट एसोसिएसन नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक ज्ञापनपत्र बुझाउँदै दन्त स्वास्थ्य क्षेत्रमा रहेका विविध समस्या समाधानका लागि ध्यानाकर्षण गराएको छ ।
एसोसिएसनले देशभरका दर्तावाल दन्त जनशक्तिहरूको हकहित र मुख स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि ३५ बुँदे माग अघि सारेको छ।
ज्ञापनपत्रमा विशेषगरी ग्रामीण क्षेत्रमा सीमित स्रोतका बाबजुद सेवा दिइरहेका डेन्टल हाइजेनिष्ट र असिस्टेन्टहरूमाथि हुने दुर्व्यवहार, अनुगमनका नाममा गरिने अपमानजनक व्यवहार र 'सेवा दिन मिल्दैन' भनी फैलाइने भ्रमप्रति गम्भीर आपत्ति जनाइएको छ।
परिषद् ऐन अनुसार इजाजत प्राप्त व्यक्तिलाई कानुन सम्मत काम गर्न अवरोध नगर्न एसोसिएसनले माग गरेको छ।
यस्तै, बजारमा पाइने औषधियुक्त मन्जनको गुणस्तर मापन, सरकारी अस्पतालमा दरबन्दी वृद्धि, र निजी क्षेत्रमा कार्यरत जनशक्तिलाई सरकारी सरह सेवा सुविधा उपलब्ध गराउनुपर्ने विषयलाई मुख्य रूपमा उठाइएको छ।
५, १० र १५ बेडका सरकारी अस्पतालहरूमा अनिवार्य रूपमा डेन्टल सेवा र विशेषज्ञको व्यवस्था गर्न समेत सरकारलाई आग्रह गरिएको छ।
एसोसिएसनका अध्यक्ष माइकल देवकोटाद्वारा हस्ताक्षरित सो पत्रमा मुखको क्यान्सर सम्बन्धी जनचेतना, विद्यालय दन्त स्वास्थ्य कार्यक्रम र बाइकको पछाडि बस्ने यात्रुलाई समेत अनिवार्य 'फुल हेलमेट' को व्यवस्था गरी अनुहारको चोटपटक न्यूनीकरण गर्नुपर्ने जस्ता रचनात्मक सुझावहरू समेत समेटिएका छन्।