कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिकास्थित आधारभूत अस्पताल चन्द्रौटाको रकम हिनामिना प्रकरणमा अस्पताल तथा बैंकका पाँच जना कर्मचारी पक्राउ परेका छन्। नेपाल प्रहरी ले मंगलबार प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी दिएको हो।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तु का अनुसार आर्थिक वर्ष २०८१/०८२ को आर्थिक कारोबारमा अनियमितता भएको भन्दै शिवराज नगरपालिकाबाट उजुरी परेपछि प्रारम्भिक अनुसन्धान सुरु गरिएको थियो। अनुसन्धानका क्रममा अस्पतालको सेवा शुल्क तथा फार्मेसीबाट औषधि बिक्रीबाट संकलित रकम नेपाल बैंक लिमिटेड चन्द्रौटा शाखामा जम्मा हुनुपर्ने भए पनि विभिन्न मितिका १२९ वटा भौचर बराबरको रु. ३८ लाख १९ हजार ७ सय ७० रकम बैंकमा जम्मा नभएको भेटिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार लेखा परीक्षणका क्रममा बैंक भौचर फाइलमा रहे पनि सो रकम बैंक खातामा दाखिला नभएको खुल्न आएको हो। उक्त घटनामा संगठित रूपमा नक्कली भौचर प्रयोग गरी ठगी तथा आपराधिक विश्वासघात गरेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा शिवराज नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख ५५ वर्षीय चुडामणि भट्टराई, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट ३० वर्षीय डा. अमित पाण्डेय, नेपाल बैंक लिमिटेड चन्द्रौटा शाखाका क्यासियर ३४ वर्षीय कमलप्रसाद भण्डारी, अस्पतालकी फार्मेसी सहायक ३७ वर्षीया रुक्सना खातुन तथा नेपाल बैंक लिमिटेड मणिग्राम शाखामा कार्यरत कार्यालय सहयोगी ३५ वर्षीय विक्रम केसी रहेका छन्।
उनीहरूविरुद्ध ठगी तथा आपराधिक विश्वासघात मुद्दामा कपिलवस्तु जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।