काठमाडौं- सरकारी अस्पतालको स्वामित्वमा रहेका जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना हटाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कडा कदम चाल्ने तयारी गरेको छ। मन्त्रालयले देशभरका संघीय अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानलाई अतिक्रमणको विवरण संकलन गरी आवश्यक परे डोजर प्रयोग गरेर संरचना हटाउन निर्देशन दिएको हो।
मन्त्रालयको आन्तरिक प्रशासन शाखाबाट बुधबार जारी पत्रअनुसार अस्पतालको नाममा रहेका जग्गाजमिन तथा भौतिक पूर्वाधारको सुरक्षा र संरक्षणका लागि तत्काल आवश्यक काम अघि बढाउन भनिएको छ।
निर्देशन पाएका संस्थामध्ये चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल लगायत रहेका छन्।
मन्त्रालयले अस्पतालको स्वामित्वमा रहेको जग्गाको साँध–सिमाना स्वीकृत नक्साअनुसार भए/नभएको यकिन गर्न तथा कुनै अनधिकृत संरचना निर्माण वा अतिक्रमण भएको भए त्यसको विस्तृत विवरण तयार गर्न निर्देशन दिएको छ।
यस्तै, अतिक्रमण भएको पाइएमा सम्बन्धित व्यक्ति वा संस्थालाई निश्चित समयसीमा तोकी लिखित सूचना जारी गर्न भनिएको छ। तोकिएको समयभित्र अतिक्रमण हटाइएन भने जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गरी संरचना हटाएर अस्पतालको भोगाधिकार कायम गर्नुपर्ने उल्लेख गरिएको छ।
मन्त्रालयले अतिक्रमण हटाइएपछि पुनः कब्जा हुन नदिन कम्पाउण्ड वाल, घेराबार वा अन्य सुरक्षा उपाय अपनाउन पनि अस्पतालहरूलाई निर्देशन दिएको छ। साथै लालपुर्जा, स्रेस्ता तथा नापीसम्बन्धी अभिलेख अद्यावधिक गरी सुरक्षित राख्न भनिएको छ।
स्वास्थ्य मन्त्री निशा मेहताका अनुसार सरकारी अस्पतालको जग्गा विभिन्न स्थानमा व्यक्तिगतरूपमा प्रयोग हुने, अस्थायी टहरा निर्माण गर्ने तथा व्यावसायिक प्रयोजनमा उपयोग गर्ने प्रवृत्ति बढेपछि यस्तो कदम चालिएको हो। मन्त्रालयले सार्वजनिक सम्पत्तिको संरक्षणलाई प्राथमिकतामा राख्दै अतिक्रमण नियन्त्रण अभियान कडाइका साथ अघि बढाउने जनाएको छ।
