धनगढी- कैलालीको लम्कीचुहा अस्पतालको स्वामित्व र सञ्चालनलाई लिएर कमलबहादुर शाह र लम्कीचुहा नगर प्रमुख सुशीला शाही बीचको राजनीतिक तथा प्रशासनिक द्वन्द्व चर्किँदा लम्की क्षेत्र तनावग्रस्त बनेको छ। अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले खटाएका कर्मचारीलाई नगरपालिकाले प्रवेशमा अवरोध गरेपछि विवाद सडकसम्म पुगेको हो।
सुदूरपश्चिम प्रदेश सरकारले १५ शय्याको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा विकास गर्ने निर्णय गर्दै सञ्चालन प्रक्रिया अघि बढाएको थियो। सोही निर्णयअनुसार सामाजिक विकास मन्त्रालयले निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. कमलेशप्रसाद यादव, लेखा अधिकृत गणेश विष्ट र जनस्वास्थ्य निरीक्षक लक्ष्मी श्रेष्ठलाई सोमबार अस्पतालमा खटाएको थियो।
तर, कर्मचारी अस्पताल पुगेलगत्तै मेयर शाहीले नगर प्रहरी परिचालन गरी उनीहरूलाई कार्यालय प्रवेशमै रोक लगाइन्। मेयरको निर्देशनपछि नगर प्रहरीले कर्मचारीलाई अस्पतालभित्र जान नदिएपछि डा. यादवसहितका कर्मचारी फर्किन बाध्य भएका थिए।
मेडिकल सुपरिटेन्डेन्ट डा. यादव पुग्नुअघि नै लेखा अधिकृत विष्ट र जनस्वास्थ्य निरीक्षक श्रेष्ठ अस्पतालमा पुगेका थिए। उनीहरू मेसुको प्रतीक्षामा अस्पतालमै बसेपछि मेयर शाही आफैं अस्पताल पुगेर आक्रोश पोख्दै दुर्व्यवहार गरेको आरोप कर्मचारी पक्षले लगाएको छ।
मेयर शाहीले भने लम्कीचुहा अस्पताल अझै नगर अस्पतालकै रूपमा रहेको र आफू सञ्चालक समिति अध्यक्ष भएको दाबी गर्दै प्रदेश सरकारले गठन गरेको अस्पताल व्यवस्थापन समिति वैधानिक नभएको बताएकी छन्। अवरोधपछि मेयरको कार्यकक्षमा विवादबारे छलफल भए पनि सहमति जुट्न सकेन।
प्रदेश सरकार र नगरपालिकाबीच अस्पताल हस्तान्तरण तथा सञ्चालन मोडालिटीमा लामो समयदेखि विवाद रहँदै आएको छ। विगतमा नगरपालिकाकै सहमतिमा अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गर्ने निर्णय भए पनि पछिल्लो समय मुख्यमन्त्री शाह र मेयर शाहीबीचको सम्बन्ध चिसिएसँगै विवाद झन् पेचिलो बनेको बताइन्छ।
सामाजिक विकास मन्त्रालयले अस्पतालमा रहेका जनशक्ति र स्रोत–साधन व्यवस्थापनका लागि समझदारीपत्र (एमओयू) गर्न पटक–पटक आग्रह गरे पनि नगरपालिकाको असहमतिका कारण प्रक्रिया अघि बढ्न सकेको छैन। नगरबाट औपचारिक हस्तान्तरण नहुँदै प्रदेश सरकारले अस्पताल व्यवस्थापन समिति गठन गरेपछि विवाद थप चर्किएको थियो।
यसैबीच, प्रदेश सरकारले पठाएका कर्मचारीलाई काम गर्न नदिएको भन्दै स्थानीय आन्दोलित बनेका छन्। अस्पताल सञ्चालनको माग गर्दै आन्दोलनरत समूहले लम्कीचुहा नगरपालिकाको कार्यालय र वडा नम्बर ४ को कार्यालयमा तालाबन्दी गरेका छन्। आन्दोलनका क्रममा नेपाल प्रहरी र नगर प्रहरीसँग स्थानीयको भनाभनसमेत भएको थियो।
आन्दोलनरत पक्षका पारश देवकोटाले प्रादेशिक अस्पताल सञ्चालनका लागि आएका डाक्टर र कर्मचारीलाई मेयरले अवरोध गरेपछि बाध्य भएर नगरपालिका कार्यालयमा तालाबन्दी गरिएको बताए। उनका अनुसार अस्पताल सञ्चालन तत्काल सुरु गर्नुपर्ने स्थानीयको माग छ।
प्रादेशिक अस्पताल बनाउने प्रक्रिया पूरा गरी प्रदेश सरकारले बजेटसमेत विनियोजन गरिसकेको भए पनि नगरपालिकाले अस्पताल हस्तान्तरण गर्न नमानेपछि समस्या जटिल बन्दै गएको छ।
मेयर शाहीले धारणा सार्वजनिक गर्दै प्रदेश सरकारले मुठभेड निम्त्याउन खोजेको आरोप लगाएकी छन्। उनले “लुकेर रेकर्डिङ गर्ने, मुठभेडको वातावरण सिर्जना गरेर तनाव भड्काउने र नियम–कानुन मिचेर एकलौटी हस्तक्षेपकारी नीति लागू गर्ने प्रवृत्तिले सरकारको वास्तविक चरित्र उजागर गरेको” उल्लेख गरेकी छन्।
उनले गैरकानुनी समिति बनाएर अस्पतालभित्र ‘चोर शैलीमा प्रवेश’ गरिएको आरोपसमेत लगाएकी छन्। साथै अस्पताललाई प्रादेशिक अस्पताल बनाउने प्रक्रिया आफ्नै पहलमा अघि बढाइएको दाबी गर्दै दीर्घकालीन समाधानका लागि संवादको बाटो खुला रहेको बताएकी छन्।
मेयर शाहीले सर्वदलीय, सर्वपक्षीय तथा सरोकारवालासँग खुला संवादका लागि नगरपालिकामा उपस्थित हुन आह्वानसमेत गरेकी छन्।
यसअघि नगरपालिकाले प्रदेश सरकारले जबरजस्ती नगर अस्पताल सञ्चालन गर्न खोजेको भन्दै सर्वोच्च अदालतमा अन्तरिम आदेश माग्दै रिट दायर गरेको थियो। तर गत वैशाख १४ गते सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।