काठमाडौं- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी पदमुक्त भएपछि नयाँ नियुक्तिको प्रक्रिया अगाडि बढाइएको छ । शिक्षामन्त्री सस्मित पोखरेलको अध्यक्षतमा बिहीबार बसेको विश्वविद्यालय सभा (सिनेट) बैठकले उपकुलपति र रजिष्ट्रार नियुक्तिका लागि सिफारिस समिति गठन गरेको हो।
प्रा.डा. जयराज अवस्थीको संयोजकत्वमा रहेको समितिमा प्रा.डा. लोचना श्रेष्ठ र दिनेश लम्साल सदस्य रहेका छन्।
विश्वविद्यालय ऐनको दफा २५ बमोजिम उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि सिफारिस समिति बनेको जानकारी दिए । यसअघि पनि अवस्थीकै संयोजकत्वमा सिफारिस समिति बनाएर उपकुलपति र रजिष्ट्रार नियुक्त गरिएको थियो।
प्रा.डा. जयराज अवस्थी, डा. डम्मरबहादुर पाल, हेमा भट्ट, प्रा.डा. संगीताराज भण्डारी, डा. लवदेव अवस्थी र धर्मदेव भट्टलाई सदस्यमा मनोनीत गरिएको छ।
यस्तै, सरकारले ल्याएको ‘विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन अध्यादेश’मार्फत शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको ऐनमासमेत संशोधन गरिएको छ । ऐनका चार वटा दफा संशोधन गरिएको छ । अध्यादेशअनुसार दफा २३ को उपदफा (२) हटाइएको छ । जसमा उपकुलपतिको पदावधि चार वर्ष हुने र कार्यसम्पादन सन्तोषजनक देखिएमा अर्को एक कार्यकालका लागि पुनः नियुक्त गर्न सकिने उल्लेख थियो।
त्यस्तै, दफा २४ को खण्ड (च) पनि संशोधन गरिएको छ । उक्त खण्डमा रहेको 'उपकुलपति नियुक्त हुँदा ६१ वर्ष ननाघेको हुनुपर्ने’ व्यवस्था हटाइएको हो । उक्त व्यवस्थाका कारण यसअघि कुलपतिमा न्युन आवेदन परेको थियो।
यस्तै, ऐनको दफा २७ को उपदफा (३) हटाइएको छ । उक्त व्यवस्थामा रजिष्ट्रारको पदावधि चार वर्षको हुने र कार्यसम्पादन सन्तोषजनक देखिएमा एक कार्यकालका लागि पुनःनियुक्ति गर्न सकिने प्रावधान थियो।
विश्वविद्यालय ऐनबाट दफा ३५ पुरै हटाइएको छ । उक्त दफामा उपकुलपति तथा रजिष्ट्रारले पदीय जिम्मेवारी पूरा नगरेमा हटाउन कुलपतिसमक्ष निवेदन दिन सकिने तथा छानबिन समिति गठन गर्ने व्यवस्था रहेको थियो ।