काठमाडौं- नेपालको स्थापित औषधि उत्पादक कम्पनी एकर्ड फर्मास्युटिकल्स लिमिटेडले पेटको एसिड र ग्यास्ट्राइटिस सम्बन्धी समस्याको उपचारमा विश्व बजारमा पछिल्लो समय निकै सफल मानिएको नयाँ औषधि नेपाली बजारमा ल्याएको छ। कम्पनीले 'भोनोप्राजन' मोलिक्युललाई 'भोनोप्रान' नाम मार्फत बजारमा उपलब्ध गराएको हो।
एकर्डले ल्याएको यो नयाँ औषधिले पेट सम्बन्धी रोगको उपचारमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।
विशेषगरी अल्सरका बिरामीका लागि प्रभावकारी मानिने 'सुकफेट' जस्ता गुणस्तरीय औषधि उत्पादन गर्दै आएको एकर्ड फर्मास्युटिकल्सले अहिले ल्याएको यो नयाँ मोलिक्युल 'पिसिएबी' (पोटासियम कम्पिटेटिभ एसिड ब्लकर) वर्गमा पर्दछ।
वर्षौँदेखि नेपाली बजारमा उपलब्ध ग्यास्ट्रिकका पुराना औषधिहरूले धेरै बिरामीमा पूर्ण समाधान दिन नसकेको र समस्या पटक-पटक बल्झिरहेको अवस्थामा 'भोनोप्रान' ले उपचारको नयाँ र प्रभावकारी विकल्प दिने एकर्डले जनाएको छ । यो औषधिले एसिड उत्पादनलाई छिटो र लामो समयसम्म नियन्त्रण गर्ने क्षमता राख्दछ।
एकर्ड फर्मास्युटिकल्सका म्यानेजिङ्ग डाइरेक्टर विशाल पण्डितले पेट सम्बन्धी रोगको उपचारमा आफूहरूले सधैँ गुणस्तरलाई प्राथमिकता दिँदै आएको बताए। उनले भने, 'हामीले पेट सम्बन्धी रोगका उपचारमा प्रयोग गरिने विभिन्न किसिमका गुणस्तरीय औषधिहरू बजारमा पहिले पनि ल्याइसकेका छौँ । यो नयाँ र आधुनिक औषधि थपिएसँगै अब चिकित्सकहरूलाई बिरामीको रोग निवारणमा निकै सहयोग पुग्ने हाम्रो अपेक्षा छ।'
अन्तर्राष्ट्रिय बजारमा निकै प्रभावकारी देखिएको यो 'न्यू क्लास मोलिक्युल' नेपाली बजारमा भित्रिएसँगै ग्यास्ट्राइटिस र यससँग सम्बन्धित जटिलताबाट पीडित बिरामीहरूका लागि यो एउटा खुसीको खबर बनेको एकर्डले जनाएको छ।