काठमाडौं - कोशी अस्पतालले जिल्ला प्रशासन कार्यालय मोरङले गरेको अनुगमनपछि सञ्चार माध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अस्पताल प्रशासनले बिहीबार विज्ञप्ति जारी गर्दै अस्पतालका चिकित्सक तथा कर्मचारी ठूलो संख्यामा अनुपस्थित रहेको भन्ने समाचार वास्तविकताभन्दा फरक रहेको दाबी गरेको हो।
अस्पतालका अनुसार अनुगमनका क्रममा ई–हाजिरीमा उपस्थित देखिएका सबै चिकित्सक आ–आफ्नो ड्युटीमा खटिएका थिए। केही चिकित्सक वार्ड, आईसीयू, शल्यक्रिया तथा अन्य युनिटमा कार्यरत रहेकाले ओपिडी क्षेत्रमा नदेखिएको अस्पतालले स्पष्ट पारेको छ।
कोशी अस्पतालले अस्पतालमा तीन सिफ्टमा सेवा सञ्चालन हुने भएकाले सबै कर्मचारी एकै समयमा उपस्थित नहुने जनाएको छ। अस्पतालमा कार्यरत ७१६ कर्मचारीमध्ये अधिकांश सिफ्ट ड्युटीमा रहने भएकाले बिहान ११ बजे गरिएको अनुगमनमा केही कर्मचारी ई–हाजिरीमा अनुपस्थित देखिनु स्वाभाविक रहेको अस्पतालको भनाइ छ।
विज्ञप्तिमा ई–हाजिरी रेकर्ड अनुसार न्यून संख्यामा मात्रै कर्मचारी अनुपस्थित रहेको उल्लेख गरिएको छ। केही कर्मचारी आकस्मिक बिदामा रहेको र ई–हाजिरी प्रणालीमा विवरण अद्यावधिक हुन बाँकी रहेको अवस्था पनि रहेको अस्पतालले जनाएको छ।
अस्पताल प्रशासनले पर्याप्त अध्ययन तथा अनुसन्धान नगरी स्वास्थ्यकर्मीहरूको मनोबल गिराउने ढंगले समाचार प्रकाशित गरिएको भन्दै आपत्ति जनाएको छ। साथै यथार्थपरक सूचना र आधिकारिक तथ्यका आधारमा मात्रै समाचार सम्प्रेषण गर्न सञ्चार माध्यमलाई आग्रह गरेको छ।
कोशी अस्पतालले गुणस्तरीय तथा निरन्तर स्वास्थ्य सेवा प्रवाहमा आफू प्रतिबद्ध रहेको पनि जनाएको छ।