गोरखा – सम्भव नेपालका संस्थापक अध्यक्ष प्रेमकुमार खत्रीको पहलमा गोरखाका दुई स्थानीय तहका स्वास्थ्य केन्द्रलाई सुविधासम्पन्न प्रयोगशालाका लागि आवश्यक सामग्री प्रदान गरेका छन्। समाजसेवी समेत रहेका युवा नेता खत्रीको पहलमा गोरखा नगरपालिका–२ को कोखेआहाले सहरी स्वास्थ्य केन्द्र र भीमसेन थापा गाउँपालिका–६, अश्राङस्थित सहिद स्मृति आधारभूत अस्पताललाई अत्याधुनिक स्वास्थ्य उपकरण प्रदान गरिएको हो।
नागरिकलाई गाउँघरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले दुवै स्वास्थ्य केन्द्रलाई गरी करिब ८० लाख रुपैयाँ बराबरका आधुनिक उपकरणहरू हस्तान्तरण गरिएको कार्यक्रम व्यवस्थापक उत्तम अधिकारीले जानकारी दिए।
अश्राङस्थित सहिद स्मृति आधारभूत अस्पताललाई अत्याधुनिक डिजिटल प्रविधिको एक्स–रे (डीआर सिस्टम), भिडिओ एक्स–रे मेसिन, ईसीजी मेसिन र फ्रिज लगायतका सामग्रीहरू प्रदान गरिएको छ। यसैगरी, गोरखा नगरपालिका–२, ताप्लेस्थित कोखेआहाले सहरी स्वास्थ्य केन्द्रमा व्यवस्थित प्रयोगशाला (ल्याब) स्थापनाका लागि आईएलआर मेसिन, यूएसजी मेसिन, इलेक्ट्रिक एनालाइजर र माइक्रोस्कोप लगायतका उपकरणहरू उपलब्ध गराइएको छ।
यी उपकरणको उपलब्धतासँगै अब त्यस क्षेत्रका बासिन्दालाई सामान्य स्वास्थ्य परीक्षण र रिपोर्टका लागि सदरमुकाम वा चितवन–काठमाडौं धाउनुपर्ने बाध्यता हट्ने विश्वास लिइएको छ।
बुधबार आयोजित छुट्टाछुट्टै कार्यक्रमका बीच सम्भव नेपालका अध्यक्ष खत्रीले ती सामग्री स्थानीय तह र स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरे। कोखेआहालेमा आयोजित कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना, उपप्रमुख सपना पुन र वडाध्यक्ष रहमतुल्ला मियाँ लगायतको सहभागिता थियो। त्यस्तै, अश्राङमा भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद वञ्जारा र उपाध्यक्ष अमृता वस्ती लगायतको उपस्थिति थियो।
प्रयोगशाला स्थापनाका लागि प्राप्त आधुनिक उपकरणहरूको सदुपयोग गरी छिट्टै सेवा सञ्चालन गरिने पालिका प्रमुखहरूले प्रतिबद्धता जनाएका छन्। उनीहरूले सम्भव नेपाललाई धन्यवाद दिँदै आगामी दिनमा समेत सहकार्यलाई प्रभावकारी बनाउने बताए।
खत्रीकै पहलमा यसअघि गोरखाका ११ स्थानीय तहले १३ वटा एम्बुलेन्स प्राप्त गरेका थिए भने आरुघाट आधारभूत अस्पतालमा झण्डै डेढ करोड लगानीमा अत्याधुनिक प्रयोगशाला स्थापना भई सञ्चालनमा रहेको बताइएको छ।