काठमाडौं- सरकारी अस्पतालहरूमा करोडौँ रुपैयाँ खर्चेर खरिद गरिएका अत्याधुनिक स्वास्थ्य उपकरणहरू वर्षौँदेखि प्रयोगविहीन अवस्थामा थन्किएका छन्। महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनअनुसार दक्ष जनशक्तिको अभाव र फितलो व्यवस्थापनका कारण राष्ट्रिय ट्रमा सेन्टरदेखि नेपाल प्रहरी अस्पतालसम्मका उपकरणहरू 'कवाडी' बन्ने अवस्थामा पुगेका हुन्।
प्रतिवेदनअनुसार राष्ट्रिय ट्रमा सेन्टरमा ५ करोड ३७ लाख ८२ हजार रुपैयाँ मूल्यको क्याथल्याब मेसिन दक्ष जनशक्ति नहुँदा २०७२ सालदेखि नै सञ्चालनमा आउन सकेको छैन। करिब १० वर्षदेखि यो मेसिन थन्किँदा बिरामीहरू महँगो शुल्क तिरेर निजी अस्पताल जान बाध्य छन्। सोही अस्पतालमा २४ करोड ७७ लाख ९ हजार मूल्यको सिटी स्क्यान सिस्टम, १४ थान भेन्टिलेटर र ५ थान सी-आर्म मेसिनसमेत प्रयोगविहीन छन्।
यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ७२ लाख ६० हजार मूल्यका लिड ई.सी.जी. केबलका ३०० सेटहरू पनि थन्किएका छन्।
मधेस प्रदेशको गजेन्द्र नारायण सिंह अस्पतालमा पनि उस्तै बेथिति देखिएको छ। त्यहाँ ४ करोड ९० लाख १५ हजार मूल्यका एक्स-रे मेसिन, इन्डो युरोलोजी सेट, ल्याप्रोस्कोपी सिस्टम र एनेस्थेसिया मेसिन प्रयोगविहीन छन्।
स्वास्थ्य क्षेत्र मात्र होइन, औषधि उत्पादन गर्ने सरकारी निकाय सिंहदरबार वैद्यखाना विकास समितिमा समेत ६० प्रकारका मेसिनहरू प्रयोगविहीन भेटिएका छन्। जसमा सिंगल रोटरी ट्याब्लेटिङ मेसिन, अटोमेटिक क्याप्सुल फिल मेसिन र पाउडर फिलिङ मेसिनजस्ता महत्वपूर्ण उपकरणहरू रहेका छन्।
प्रहरी अस्पतालमा अत्याधुनिक मेसिन प्रयोगविहीन
नेपाल प्रहरी अस्पतालमा समेत १६ स्लाइसको सिटी स्क्यान मेसिन र १.५ टेस्लाको अत्याधुनिक एमआरआई मेसिन प्रयोगमा आउन सकेका छैनन्। राज्यको ढुकुटीबाट अर्बौँ खर्चेर किनिएका यी उपकरणहरू सञ्चालनमा नआउँदा एकातिर उपकरणको वारेन्टी अवधि सकिँदै गएको छ भने अर्कोतिर सर्वसाधारणले राज्यबाट पाउनुपर्ने न्यूनतम स्वास्थ्य सुविधाबाट समेत वञ्चित हुनु परेको महालेखाको ठहर छ।
उपकरण खरिद गर्दा कमिसनको चलखेल हुने तर सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति र मर्मतसम्भारमा ध्यान नदिने प्रवृत्तिका कारण स्वास्थ्य क्षेत्रमा लगानी भएको ठुलो पुँजी खेर गइरहेको विज्ञहरू बताउँछन्।
