काठमाडौं- नेपाली फर्मास्युटिकल बजारमा ग्यास्ट्रिक तथा एसिडिटीको उपचारका लागि नयाँ पुस्ताको औषधि भित्रिएको छ। ओम फर्मास्युटिकल्स ल्याब प्रालिले पेट र छाती पोल्ने (एसिडिटी) सम्बन्धी समस्याका लागि ‘भोनोप्राजान’ युक्त नयाँ औषधि ‘रेनोभ’ बजारमा ल्याएको हो।
औषधि व्यवस्था विभागबाट स्वीकृति पाएसँगै कम्पनीले गत शुक्रबारदेखि यो औषधिको बिक्री-वितरण सुरु गरेको छ। बजारमा यो औषधि ‘रेनोभ १०’ (१० एमजी) र ‘रेनोभ २०’ (२० एमजी) को डोजमा उपलब्ध छ।
कम्पनीका अनुसार ‘रेनोभ’ परम्परागत रूपमा प्रयोग भइरहेका पीपीआई (Proton Pump Inhibitor) वर्गका औषधिहरू (जस्तै: ओमिप्राजोल, पेन्टोप्राजोल) भन्दा निकै आधुनिक छ। यो नयाँ पुस्ताको ‘पोटासियम–कम्पेटिटिभ एसिड ब्लकर’ प्रविधिमा आधारित औषधि हो। यसले पेटमा बन्ने अतिरिक्त एसिडलाई तीव्र गतिमा नियन्त्रण गर्नुका साथै लामो समयसम्म यसको प्रभाव कायम राख्छ।
कम्पनीले यो औषधिलाई नयाँ पुस्ताको थेरापी, अझ प्रभावकारी एसिड नियन्त्रणको नारासहित प्रवर्धन गरिरहेको छ।
‘रेनोभ’ मुख्यगरी ग्यास्ट्रो–इसोफेजियल रिफ्लक्स डिजिज (GERD) – पेटको एसिड भयोभएर घाँटीतिर आउने समस्या, इरोसिभ इसोफेजाइटिस – एसिडका कारण अन्ननलीमा हुने घाउ वा सुजन ग्यास्ट्रिक तथा डुओडेनल अल्सर दोहोरिन नदिने रोकथामका लागि, हेलिकोब्याक्टर पाइलोरी संक्रमणको उपचारमा प्रयोग हुन्छ।
विश्वभर ग्यास्ट्राइटिस, एसिड रिफ्लक्स र अन्य जटिल एसिडिटीको उपचारमा भोनोप्राजान सफल मानिँदै आएको छ। नेपालमा यो अत्याधुनिक थेरापी भित्र्याउने अग्रणी कम्पनीहरूमध्ये ओम फर्मास्युटिकल्स पनि एक बनेको छ।
अन्तर्राष्ट्रिय मापदण्ड पालना गरेर उत्पादन गरिएको यो औषधिले नेपाली बिरामीको स्वास्थ्य र जीवनस्तर सुधार्न मद्दत पुग्ने कम्पनीको विश्वास छ। यद्यपि, यो औषधि चिकित्सकको लिखित सिफारिस र सल्लाहका आधारमा मात्र प्रयोग गर्नुपर्ने कम्पनीले स्पष्ट पारेको छ।
ओम फर्मास्युटिकल्सले यसअघि पनि नेपाली बजारमा ग्यास्ट्रिककै उपचारका लागि पेन्टोप्राजोल, ओमिप्राजोल, राबेप्राजोल, र इसोमिप्राजोल फास्ट रिलिजिङ ट्याब्लेट जस्ता स्थापित औषधिहरू उत्पादन गर्दै आइरहेको छ।