जेनेभा- स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री नीशा मेहताले स्विट्जरल्याण्डको जेनेभास्थित प्याले दे नासियोँमा आयोजित ७९औँ विश्व स्वास्थ्य सभालाई सम्बोधन गर्दै नेपालको स्वास्थ्य क्षेत्रले हासिल गरेका प्रगति र अन्तर्राष्ट्रिय प्रतिबद्धताबारे विश्व समुदायलाई जानकारी गराएकी छन्।
सम्बोधनका क्रममा मन्त्री मेहताले नेपाल सशक्त, पर्याप्त वित्तीय स्रोतयुक्त तथा सदस्य राष्ट्रको आवश्यकता अनुसार उत्तरदायी विश्व स्वास्थ्य संगठनको पक्षमा दृढ रहेको बताइन्। उनले प्राथमिक स्वास्थ्य सेवा विस्तार, उच्च खोप पहुँच, मातृ तथा शिशु स्वास्थ्यमा सुधार, आपत्कालीन स्वास्थ्य तयारी सुदृढीकरण तथा मानव पेपिलोमा भाइरसविरुद्धको खोपलाई नियमित खोप कार्यक्रममा समावेश गरिएको उपलब्धिबारे प्रकाश पारिन्।
विश्व स्वास्थ्य सभाले मन्त्री मेहतालाई ७९औँ विश्व स्वास्थ्य सभाको उपाध्यक्षमा समेत निर्वाचित गरेको छ। उनको निर्वाचनलाई नेपालको स्वास्थ्य कूटनीति र अन्तर्राष्ट्रिय उपस्थितिका दृष्टिले महत्वपूर्ण उपलब्धि मानिएको छ।
जेनेभा भ्रमणका क्रममा मन्त्री मेहताले संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगको भ्रमण गर्दै नेपालको प्राथमिकता र जेनेभामा भइरहेका बहुपक्षीय गतिविधिबारे जानकारी लिएकी थिइन्।
मे १८ मा आयोजित “आत्महत्या रोकथामको विश्वव्यापी प्रयासः प्रमाणलाई कार्यान्वयनमा रूपान्तरण” विषयक कार्यक्रममा पनि मन्त्री मेहताले सम्बोधन गरेकी थिइन्। नेपाल, विश्व स्वास्थ्य संगठनका सदस्य राष्ट्र तथा सामाजिक साझेदारहरूको सहकार्यमा आयोजित कार्यक्रममा श्रीलङ्का र पोर्चुगलका मन्त्री, ग्वाटेमालाकी प्रथम महिला, विश्व स्वास्थ्य संगठनका सहायक महानिर्देशक डा. जेरेमी फरार, विभिन्न सदस्य राष्ट्रका प्रतिनिधि, नागरिक समाज तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए।
त्यसअघि मन्त्री मेहताले “स्वास्थ्य प्रणाली रूपान्तरणका लागि जिम्मेवार कृत्रिम बौद्धिकता” विषयक मन्त्रीस्तरीय बैठकमा सहभागिता जनाएकी थिइन्। साथै उनले धाइआमा सेवासम्बन्धी मन्त्रीस्तरीय छलफलमा भाग लिँदै “पाठेघरको मुखको क्यान्सर उन्मूलनः सन् २०३० का लक्ष्यतर्फ स्वास्थ्य प्रणाली सुदृढीकरण र जवाफदेहिता” विषयक कार्यक्रममा मुख्य वक्ताका रूपमा मन्तव्य व्यक्त गरिन्।
मन्त्री मेहताको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसंघका लागि जेनेभास्थित नेपालका स्थायी प्रतिनिधि राजदूत रामप्रसाद सुवेदी, स्वास्थ्य मन्त्रालय तथा जेनेभास्थित नेपाली स्थायी नियोगका अधिकारीहरू सहभागी छन्। मन्त्री मेहता मे १७ मा जेनेभा पुगेकी थिइन्, जहाँ उनलाई जेनेभा अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूत सुवेदीले स्वागत गरेका थिए।