काठमाडौँ- नेपाल सरकारले तोकेबमोजिम न्यूनतम पारिश्रमिक दिन अस्पताल प्रशासन तयार भएपछि कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा कार्यरत आन्दोलनरत स्वास्थ्यकर्मीहरूले तत्कालका लागि आन्दोलन स्थगित गरेका छन्।
आज साँझ अस्पताल प्रशासन, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, नर्सिङ संघका प्रतिनिधि, सांसद प्रभा ढकाल तथा नर्स अभियन्ताहरूको सहभागितामा अस्पताल प्रशासन र आन्दोलनरत स्वास्थ्यकर्मीबीच उक्त सहमति भएको हो।
सहमतिपछि सहिद मेमोरियलका स्वास्थ्यकर्मीहरूले स्वास्थ्य मन्त्रालयले गत कार्तिकमा निर्धारण गरेअनुसारको न्यूनतम पारिश्रमिक सोही मितिबाट प्राप्त गर्ने भएका छन्।
स्वास्थ्य मन्त्रालयले तोकेबमोजिम सरकारी सरहको न्यूनतम पारिश्रमिक पाउनुपर्ने माग राख्दै सहिद मेमोरियलका स्वास्थ्यकर्मीहरू विगत चार दिनदेखि आन्दोलनरत थिए।