काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको नेता एवं सांसद ज्ञानेन्द्र शाहीले नेपालको औषधि उद्योग आज गम्भीर संकटमा परेको भन्दै सरकारसँग तत्काल नीतिगत सुधारको माग गरेका छन्।
अत्यधिक वैदेशिक आयात र सरकारको कमजोर नीतिका कारण नेपालका करिब ५० वटा स्वदेशी औषधि उद्योगहरू ‘सिक युनिट’ (थला परेको अवस्था) मा पुगेको र यसले गर्दा उद्योगहरूमा कार्यरत १० हजारभन्दा बढी नेपाली कामदारहरू रोजगारी गुमाउन बाध्य भएको उनले उल्लेख गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले नीतिगत सुधार गर्न माग गरेका छन्।
नेपालमै सहजै उत्पादन गर्न सकिने करिब ५० प्रतिशत औषधिहरू अहिले पनि विदेशबाट आयात भइरहेको अवस्थाप्रति दुःख व्यक्त गर्दै सांसद शाहीले यसले स्वदेशी उद्योगलाई मात्र नभएर देशको आत्मनिर्भरता र रोजगारीमाथि समेत ठूलो प्रहार गरेको उल्लेख गरेका छन्।
सांसद शाहीले समयमै स्वदेशी उद्योगलाई जोगाउन नसकिए भोलि हामी औषधजस्तो संवेदनशील विधामा पूर्ण रूपमा विदेशी मुलुकको भर पर्नुपर्ने भयावह अवस्था आउनेतर्फ सचेत गराएका छन्।
उनले वैदेशिक औषधि आयातमा तत्काल नियन्त्रण गर्न, स्वदेशी उत्पादनलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्न र नेपालमै ‘कन्ट्र्याक्ट म्यानुफ्याक्चरिङ’ (सम्झौतामूलक उत्पादन) को नीति तत्काल लागू गर्न नेपाल सरकारसँग अपिल गरेका छन्।
हेरौं शाहीले लेखेको विषय
नेपालको औषधि उद्योग आज गम्भीर संकटमा छ।
अत्यधिक आयात र कमजोर नीतिका कारण करिब ५० स्वदेशी औषधि उद्योग ‘सिक युनिट’को अवस्थामा पुगेका छन् भने १० हजारभन्दा बढी नेपाली कामदार बेरोजगार बन्न बाध्य भएका छन्।
दुःखको कुरा, नेपालमै उत्पादन गर्न सकिने करिब ५०% औषधि विदेशबाट आयात भइरहेको छ। यसले स्वदेशी उद्योग मात्र होइन, देशको आत्मनिर्भरता र रोजगारीमाथि पनि ठूलो प्रहार गरेको छ।
यदि आज स्वदेशी उद्योग जोगाउन सकिएन भने भोलि हामी पूर्ण रूपमा विदेशी औषधिमाथि निर्भर हुनुपर्ने अवस्था आउन सक्छ। त्यसैले
सरकारले तत्काल आयात नियन्त्रण, स्वदेशी उत्पादन प्रवर्द्धन र नेपालमै ‘कन्ट्र्याक्ट म्यानुफ्याक्चरिङ’को नीति ल्याउन नेपाल सरकारलाई हार्दिक अपिल गर्दछु।