काठमाडौं- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डाबर नेपाल प्रा. लि. द्वारा उत्पादित महको एक ब्याच बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ। प्रयोगशाला परीक्षणमा उक्त उत्पादन न्यूनस्तर भेटिएपछि विभागले उपभोक्ता सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो।
विभागका अनुसार बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको नमुनाको परीक्षण गर्दा ५०० ग्रामको “Honey” (Batch No. NB004 DABUR, उत्पादन मिति 2025/12, उपभोग्य अवधि 18 महिना) मापदण्डअनुसार गुणस्तर पूरा नगरेको पाइएको हो।
यसै आधारमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) बमोजिम उक्त ब्याचका सबै उत्पादन बजारबाट तुरुन्त फिर्ता गर्न आदेश जारी गरिएको छ। साथै सोही ऐनको दफा ३८(४) अनुसार उक्त ब्याचको बिक्री–वितरण नगर्न/नगराउन पनि निर्देशन दिइएको विभागले जनाएको छ।
डाबर नेपाल प्रालिले उत्पादन गरेको उक्त महमा देखिएको गुणस्तर समस्या बारे विस्तृत अनुसन्धान भइरहेको विभागले जनाएको छ। विभागले सम्बन्धित उत्पादकलाई आवश्यक सुधारात्मक कदम तत्काल अपनाउन समेत निर्देशन दिएको छ।
वरिष्ठ खाद्य अनुसन्धान अधिकृतका अनुसार उपभोक्ता स्वास्थ्य जोखिममा पर्न नदिन यो निर्णय गरिएको हो। बजारमा उक्त ब्याचका उत्पादन देखिएमा उपभोक्तालाई खरिद नगर्न र पहिले नै खरिद गरिसकेका उत्पादन फिर्ता गर्न आग्रह गरिएको छ।
