काठमाडौं- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति तथा रजिस्ट्रार पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले इच्छुक तथा योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ।
समितिले मिति २०८३ जेठ ५ गते स्वीकृत “शहीद दशरथ स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०५३” बमोजिम आवेदन माग गरेको हो।
सूचनाअनुसार इच्छुक उम्मेदवारले कार्यविधिको अनुसूची–१ मा उल्लेख गरिएको ढाँचामा सूचना पहिलो पटक प्रकाशित भएको मितिले १० दिनभित्र शिक्षा तथा खेलकुद मन्त्रालय, सिंहदरबारस्थित प्राविधिक शिक्षा शाखामा कार्यालय समयभित्र दरखास्त पेश गर्नुपर्नेछ।
अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछि कार्यालय खुलेको पहिलो दिन कार्यालय समयभित्र आवेदन दिन सकिने जनाइएको छ।
सम्बन्धित कार्यविधि शिक्षा तथा खेलकुद मन्त्रालयको वेबसाइट शिक्षा तथा खेलकुद मन्त्रालय मा उपलब्ध रहेको मन्त्रालयले जनाएको छ।
उपकुलपतिका लागि आवश्यक योग्यता
कार्यविधिअनुसार उपकुलपति पदका उम्मेदवारले देहायका न्यूनतम योग्यता पूरा गरेको हुनुपर्नेछः
- मान्यता प्राप्त विश्वविद्यालयबाट चिकित्सा शिक्षासँग सम्बन्धित कुनै विधामा विद्यावारिधि, डीएम, एमसीएच वा सो सरहको उपाधि प्राप्त गरेको,
- विश्वविद्यालयको प्राध्यापक पदमा नियुक्ति भई कम्तीमा १० वर्षको अनुभव हासिल गरेको,
- शैक्षिक वा प्राज्ञिक उन्नयन क्षेत्रमा उत्कृष्ट व्यवस्थापकीय कुशलता तथा नेतृत्व क्षमता प्रदर्शन गरेको,
- प्राज्ञिक तथा अनुसन्धानमूलक परियोजना सफलतापूर्वक सम्पन्न गरेको,
- राष्ट्रिय वा अन्तर्राष्ट्रिय जर्नलमा अनुसन्धानमूलक लेख तथा सन्दर्भ सामग्री प्रकाशन गरेको,
- दरखास्त दिने अन्तिम दिनसम्म ३५ वर्ष उमेर पूरा भएको,
- विश्वविद्यालयसँग कुनै स्वार्थ नबाझिएको,
- नेपाली नागरिक भएको,
- सार्वजनिक पदमा नियुक्ति वा मनोनयनका लागि अयोग्य नभएको,
- दरखास्त दिनुअघि कुनै राजनीतिक दलको सदस्य नरहेको।
- रजिस्ट्रारका लागि आवश्यक योग्यता
रजिस्ट्रार पदका लागि उम्मेदवारले देहायका योग्यता पूरा गरेको हुनुपर्ने कार्यविधिमा उल्लेख छः
- मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको,
- समकक्षी समीक्षित जर्नल (Peer-reviewed Journal) वा Ranked Journal मा अनुसन्धानमूलक लेख तथा सन्दर्भ सामग्री प्रकाशन गरेको भए त्यसको प्रतिलिपि पेश गर्नुपर्ने,
- सार्वजनिक पदमा नियुक्ति वा मनोनयनका लागि अयोग्य नभएको तथा हाल कुनै राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा पत्र पेश गर्नुपर्ने,
- विश्वविद्यालयसँग कुनै स्वार्थ नबाझिएको व्यहोरा खुल्ने स्वघोषणा पत्र पेश गर्नुपर्ने,
- नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि संलग्न गर्नुपर्ने।