काठमाडौं- चलचित्र सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा सांसदले फिल्म, वेब–सिरिज तथा अन्य दृश्य–श्रव्य सामग्रीमा देखाइने धूम्रपान तथा सुर्तीजन्य पदार्थका दृश्यमाथि कडा नियमन गर्न माग गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदले सुर्तीजन्य पदार्थको सेवन विश्वव्यापी रूपमा रोकथाम गर्न सकिने रोग तथा मृत्युको प्रमुख कारणमध्ये एक रहेको उल्लेख गर्दै नेपालमा हरेक वर्ष करिब ३९ हजार २ सय जनाको मृत्यु सुर्तीजन्य पदार्थ तथा त्यससँग सम्बन्धित रोगका कारण हुने विभिन्न अध्ययनहरूले देखाएको बताए।
उनले विशेषगरी किशोर–किशोरी तथा युवापुस्तामा चलचित्र, वेब–सिरिज,ओटीटी प्लेटफर्म, सामाजिक सञ्जाल लगायतका माध्यमबाट देखाइने धूम्रपान तथा भेपिङ सम्बन्धी दृश्यहरूले नकारात्मक प्रभाव पारिरहेको बताए। 'फिल्म मनोरञ्जन मात्र होइन, यसले संस्कार, व्यवहार र धारणा निर्माण गर्छ,' उनले भने।
सांसदले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का पूर्वनिर्देशक डा. डगलस बेट्चरको भनाइ उद्धृत गर्दै सुर्तीजन्य पदार्थको विज्ञापनमाथि प्रतिबन्ध बढ्दै गएपछि फिल्म किशोरकिशोरीलाई स्मोकिङ इमेजरी देखाउने प्रमुख माध्यम बनेको उल्लेख गरे।
उनले बेलायतमा ५ हजारभन्दा बढी किशोर–किशोरीमा गरिएको अध्ययनले फिल्ममा धुम्रपानका दृष्य हेर्दा धूम्रपान सुरु गर्ने जोखिम १०० प्रतिशतभन्दा बढी बढ्ने देखाएको तथा नियमित धूम्रपान गर्ने जोखिम ६८ प्रतिशतले बढेको तथ्य प्रस्तुत गरे। नर्वेमा गरिएको अर्को अध्ययनले 'कुल पिपुल स्मोक' भन्ने धारणा विकास गर्न फिल्मले भूमिका खेलेको निष्कर्ष निकालेको पनि उनले बताए।
सांसदले विश्व स्वास्थ्य संगठनको स्मोक-फ्री मुभिज प्रतिवेदन तथा डब्लुएचओ फ्रेमवर्क कन्भेन्सन अन टोबाको क डब्लुएचओ फ्रेमवर्क कन्भेन्सन अन टोबाको कन्ट्रोल (एफसीटीसी) को धारा १३ अनुसार चलचित्रसम्बन्धी कानुनमा स्पष्ट नियन्त्रणात्मक व्यवस्था गर्न आग्रह गरे।
उनले चलचित्र, वेब-सिरिज तथा अन्य दृश्य–श्रव्य सामग्रीमा सुर्तीजन्य पदार्थका दृश्यलाई निरुत्साहित तथा नियमन गर्ने कानुनी व्यवस्था गर्न, सुर्तीजन्य पदार्थ र मदिराका ब्रान्डको प्रत्यक्ष वा अप्रत्यक्ष प्रचार–प्रसार रोक्न तथा धूम्रपान वा मदिराजन्य दृश्य भएका सामग्री प्रदर्शनअघि कम्तीमा दुई मिनेटको जनचेतनामूलक स्वास्थ्य सन्देश अनिवार्य गर्न माग गरे।
यस्तै, यस्ता दृश्य समावेश भएका चलचित्रमा उमेर वर्गीकरण (एज रेटिङ) अनिवार्य गर्न तथा बालबालिका र किशोर-किशोरी लक्षित सामग्रीमा सुर्तीजन्य पदार्थ तथा भेपिङ सम्बन्धी दृश्य पूर्ण रूपमा निषेध गर्नुपर्ने उनको भनाइ थियो।
'फिल्ममा सुर्तिजन्य पदार्थको प्रयोग आर्टिस्टिक एक्सप्रेसनको विषय मात्रै होइन, यो जनस्वास्थ्य र भविष्यको क्यान्सर बर्डेनसँग जोडिएको विषय हो,' उनले भने।