काठमाडौं- सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ मा नेपालमा दर्ता भएका चिकित्सकहरूको तथ्यांकमा त्रुटि भेटिएको छ। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका वास्तविक चिकित्सकको संख्यालाई दोहोर्याएर गणना गर्दा सर्वेक्षणमा नेपालमा ५४ हजारभन्दा बढी चिकित्सक रहेको भ्रामक विवरण पर्न गएको हो।
आर्थिक सर्वेक्षणको बुँदा ११.१३ र तालिका ११(च) अनुसार २०८२ फागुनसम्म नेपालमा ३५ हजार १ सय ८७ मेडिकल चिकित्सक, ६ हजार ८३ दन्त चिकित्सक र १२ हजार ९ सय ५३ विशेषज्ञ चिकित्सक गरी कूल ५४ हजार २ सय २३ चिकित्सक दर्ता भएको दाबी गरिएको छ।
तर, नेपाल मेडिकल काउन्सिलको वास्तविक तथ्यांक र दर्ता प्रक्रियालाई केलाउँदा यो संख्या पूर्णतः गलत देखिन्छ। काउन्सिलका अनुसार नेपालमा हालसम्म मेडिकल र दन्त चिकित्सक गरी वास्तविक दर्ता भएका चिकित्सकको संख्या ४१ हजार २ सय ७० मात्रै हो।
कसरी भयो तथ्यांकमा त्रुटि?
आर्थिक सर्वेक्षणको प्रतिवेदन तयार पार्ने क्रममा काउन्सिलको दर्ता प्रणालीको मर्म नबुझ्दा यस्तो त्रुटि भएको देखिन्छ। सर्वेक्षणमा 'एमडी/एमएस/एमडीएस' गरेका १२ हजार ९ सय ५३ जना विशेषज्ञ चिकित्सकलाई छुट्टै नयाँ चिकित्सकका रूपमा जोडेर कुल संख्या ५४ हजार २ सय २३ पुर्याइएको छ।
एमडी, एमएस वा एमडीएस उपाधि हासिल गरेर विशेषज्ञका रूपमा दर्ता भएका १२ हजार ९ सय ५३ जना चिकित्सकहरू काउन्सिलमा पहिले नै मेडिकल (एमबीबीएस) वा डेन्टल (बीडीएस) चिकित्सकका रूपमा दर्ता भइसकेका व्यक्तिहरू हुन्। 'उनीहरूले माथिल्लो तहको डिग्री लिएपछि काउन्सिलबाट 'विशेषज्ञ दर्ता'को प्रमाणपत्र मात्र थप लिएका हुन्, उनीहरू नयाँ वा छुट्टै चिकित्सक होइनन्,' काउन्सिलका एक सदस्यले स्वास्थ्यखबरसँग भने, 'यसरी काउन्सिलमा पहिले नै दर्ता भइसकेका ४१ हजार २ सय ७० जनाभित्रै पर्ने १२ हजार ९ सय ५३ जना विशेषज्ञ चिकित्सकलाई पुनः दोहोर्याएर जोड्दा कुल संख्या १३ हजारभन्दा बढीले बढेर त्रुटिपूर्ण तथ्यांक बाहिर आएको देखिन्छ।'
तथ्यांक बढी देखाउने खेल कि कमजोरी?
नेपाल मेडिकल काउन्सिलका अधिकारीहरू तथ्यांक राख्ने क्रममा अर्थ मन्त्रालयका कर्मचारीहरुले प्राविधिक कमजोरी वा नबुझिएको कारणले यस्तो गल्ती गरेको हुन सक्ने अनुमान गरेका छन्।
'दर्ता भएका चिकित्सक धेरै छन् भनेर देखाउन जानाजानी यसरी राखिएको हो वा सरकारी निकायले काउन्सिलको तथ्यांकको वर्गीकरण नबुझेर यस्तो भएको हो त्यो उहाँहरु नै जान्नुहोला। तर प्राविधिक कमजोरी भएको हो किन भन्ने अनुमान गरेका छौं,' काउन्सिलका एक सदस्यले भने।
अर्थ मन्त्रालयका एक कर्मचारीले काउन्सिलबाट आएको तथ्यांकहरु नै जोडेर राखेको जानकारी दिए।
काउन्सिलको तथ्यांक अनुसार हाल नेपालमा वास्तविक रूपमा दर्ता भएका कुल ४१ हजार २ सय ७० चिकित्सक (३५,१८७ मेडिकल र ६,०८३ दन्त चिकित्सक) मध्येबाटै करिब १३ हजारले विशेषज्ञता हासिल गरेका हुन्।