काठमाडौं । विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा काठमाडौं क्यान्सर सेन्टरले जनचेतनामूलक र्याली आयोजना गरेको छ।
काठमाडौं क्यान्सर सेन्टर र क्यान्सर सपोर्ट अवेरनेस नेपाल को संयुक्त आयोजनामा सम्पन्न र्यालीमार्फत धुम्रपान तथा सुर्तीजन्य पदार्थले क्यान्सर निम्त्याउनुका साथै वातावरणसमेत प्रदूषित बनाउने विषयमा जनचेतना फैलाइएको आयोजकले जनाएको छ।
र्याली नमुना कलेजबाट सुरु भई जोन डेवी स्कुल, कपन मार्ग र रिङ रोड हुँदै नारायण गोपाल चोकसम्म पुगेको थियो। कार्यक्रममा विद्यार्थी, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको सहभागिता रहेको थियो।
कार्यक्रममा मेडिकल अन्कोलोजिस्ट डा. रजनी झा ले क्यान्सर रोग, यसको जोखिम तथा सुर्तीजन्य पदार्थ सेवनबाट हुने असरबारे सचेतनामूलक जानकारी दिएकी थिइन्।
विश्व सुर्तीजन्य पदार्थरहित दिवस हरेक वर्ष मे ३१ मा मनाइन्छ। यस दिवसले धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनबाट हुने स्वास्थ्य र वातावरणीय असरबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको छ।