काठमाडौं- सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गर्दै आगामी तीन वर्षभित्र ९० प्रतिशत नागरिकलाई बीमाको दायरामा ल्याउने लक्ष्य अघि सारेको छ।
शुक्रबार संघीय संसद्मा आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले छरिएर रहेका सामाजिक सुरक्षा र सरकारी दायित्वलाई एकीकृत गरी प्रभावकारी स्वास्थ्य सुरक्षा प्रणाली निर्माण गरिने बताएका हुन्।
उनका अनुसार हाल विभिन्न निकायमार्फत सञ्चालन भइरहेका सामाजिक सुरक्षा कार्यक्रम, सहुलियत तथा उपचार सहायता योजनालाई समेटेर एकीकृत ढाँचामा लैजाने तयारी गरिएको छ। सरकारले यस कदमबाट स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार हुनुका साथै व्यक्तिगत उपचार खर्च उल्लेख्य रूपमा घट्ने अपेक्षा गरेको छ।
अर्थमन्त्री वाग्लेले स्वास्थ्य बीमा कार्यक्रमलाई दीगो, पारदर्शी र सेवामुखी बनाउन संरचनागत सुधार गरिने उल्लेख गरे। उनले बीमा प्रणालीलाई डिजिटल प्रविधिसँग आबद्ध गर्दै सेवा वितरणलाई थप सहज र प्रभावकारी बनाइने बताए।
सरकारले आगामी तीन वर्षभित्र अधिकांश नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याएर उपचार खर्चका कारण आर्थिक बोझमा पर्ने अवस्थालाई न्यूनीकरण गर्ने लक्ष्य लिएको जनाएको छ।