काठमाडौं - सरकारले सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडको उत्पादन तथा सञ्चालन क्षमता विस्तार गर्ने घोषणा गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्ले ले आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै नेपाल औषधि लिमिटेडलाई थप सुदृढ बनाउँदै सरकारले निशुल्क उपलब्ध गराउने २५ प्रकारका औषधि उत्पादन गर्न सक्षम बनाउने बताएका हुन्।
बजेटमार्फत सरकारले अत्यावश्यक औषधिको स्वदेशी उत्पादन वृद्धि गर्दै आयातमा निर्भरता घटाउने नीति अघि सारेको जनाएको छ। नेपाल औषधि लिमिटेडको उत्पादन क्षमता विस्तारसँगै सरकारी स्वास्थ्य संस्थामा आवश्यक औषधिको आपूर्ति सहज हुने अपेक्षा गरिएको छ।
यसैगरी सरकारले चिकित्सा, नर्सिङ तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित उच्च शिक्षाको कोटा पनि वृद्धि गर्ने घोषणा गरेको छ। दक्ष जनशक्ति उत्पादनलाई प्राथमिकतामा राख्दै स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधार गर्ने लक्ष्य लिइएको बजेट वक्तव्यमा उल्लेख छ।
सरकारले स्वास्थ्य बीमा कार्यक्रममा समेत व्यापक सुधार र पुनर्संरचना गर्ने जनाएको छ। पछिल्लो समय आर्थिक तथा व्यवस्थापकीय चुनौतीका कारण प्रभावकारिता घट्दै गएको स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्जीवन दिन बजेटमार्फत नयाँ व्यवस्था गरिने अर्थमन्त्री वाग्लेले बताए।