काठमाडौं- अतिरिक्त स्वास्थ्य सचिव (१२औँ तह) को रिक्त एक पदमा बढुवाका लागि नाम सिफारिस गर्न सोमबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले दुई जनाको नाम सिफारिस गरेको छ।
मन्त्रालय स्रोतका अनुसार समितिले डा. सुधा देवकोटा र डा. विनोदविन्दु शर्माको नाम सिफारिस गरेको हो।
डा. देवकोटा हाल डडेल्धुरा अस्पतालमा प्रमुख मेडिकल सुपरिन्टेन्डेन्टका रूपमा कार्यरत छिन्। डा. शर्मा भने गण्डकी प्रदेशस्थित प्रादेशिक स्वास्थ्य तालिम केन्द्रका निर्देशक हुन्। त्यसअघि उनी गण्डकी प्रदेश सचिव थिए।
लुम्बिनी प्रदेशकी स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ मूल्याङ्कनमा झिनो अन्तरले उनी पछि परेको बताइएको छ। स्रोतका अनुसार प्राप्त अंकका आधारमा शीर्ष दुई उम्मेदवारको नाम सिफारिस गरिएको हो।
गत भदौमा टंक बाराकोटीले राजीनामा दिएपछि उक्त पद रिक्त भएको थियो। सो पदमा बढुवाका लागि योग्यता पुगेका अधिकारीहरूबाट आवेदन माग गरिएकोमा १३ जनाले आवेदन दिएका थिए।
सिफारिस भएका दुई जनामध्ये एक जनालाई मन्त्रिपरिषद् बैठकले अतिरिक्त स्वास्थ्य सचिव पदमा बढुवा गर्नेछ।