काठमाडौं- नेपालका लागि मित्रराष्ट्र चीनका राजदूत चाङ माउ मिङ्गले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग मन्त्रालयस्थित कार्यकक्षमा औपचारिक शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटका क्रममा नेपाल–चीनबीच लामो समयदेखि रहँदै आएको घनिष्ठ सम्बन्ध तथा आपसी सहयोगका विविध विषयमा छलफल भयो। मन्त्री मेहताले चीन सरकारले नेपाललाई सुखदुःखका विभिन्न समयमा प्रदान गरेको सहयोग तथा स्वास्थ्य क्षेत्रका विभिन्न परियोजनामा पुर्याएको योगदानको प्रशंसा गरिन्। उनले नवनियुक्त राजदूतको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै चीनको प्रशंसनीय विकासबाट नेपालले पनि सिकेर अघि बढ्नुपर्ने धारणा राखिन्।
राजदूत चाङले ठूलो जनादेशसहित गठन भएको नेपाल सरकारलाई बधाई दिँदै सरकारको कार्यकाल सफल रहोस् तथा नेपालको आर्थिक एवं सामाजिक विकासमा उल्लेखनीय प्रगति हासिल होस् भन्ने शुभकामना व्यक्त गरे। उनले चीन सरकार नेपाल सरकारका प्राथमिकताका क्षेत्रमा सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए।
भेटमा राजदूत चाङले परम्परागत चिकित्सा प्रणाली, जनस्वास्थ्य, पूर्वाधार विकास तथा खाद्य स्वच्छताका विविध क्षेत्रमा क्षमता अभिवृद्धि र प्राविधिक सहयोग विस्तार गर्न सकिने प्रस्तावसमेत राखे।