हुम्ला — हुम्लाको चङ्खेली गाउँपालिका अन्तर्गत श्रीमस्टा स्वास्थ्य चौकीमा कार्यरत अनमी (छैठौं तह) जुना सिंहले आर्थिक वर्ष २०८१/०८२ का आठ महिनादेखि तलब तथा पोसाक भत्ता नपाएको गुनासो गरेकी छन्।
उक्त स्वास्थ्यकर्मीका अनुसार आफू स्थायी दरबन्दीमा श्रीमस्टा स्वास्थ्य चौकीमा कार्यरत रहे पनि हाल पिप्लाङ बर्थिङ सेन्टरमा काजमा खटिएर सेवा दिँदै आएकी थिइन्। तर लामो समयदेखि पारिश्रमिक नपाउँदा आर्थिक तथा मानसिक समस्या भोग्नुपरेको उनले बताइन्।
उनका अनुसार कार्यालय प्रमुख वा लेखापालतर्फ कुनै व्यक्तिगत दोष नभए पनि स्थानीय तहका जनप्रतिनिधि तथा सम्बन्धित निकायबीचको समन्वय अभावका कारण तलब भुक्तानी रोकिएको हुन सक्ने आशंका छ।
उनले कार्यस्थलसम्मको दुरी र व्यक्तिगत अवस्थालाई ध्यानमा राख्दै नजिकैको स्वास्थ्य संस्थामा काज वा पदस्थापनका लागि पटक–पटक अनुरोध गरे पनि सुनुवाइ नभएको बताइन्। पछि पालिकाको निर्णयअनुसार उनलाई पिप्लाङ बर्थिङ सेन्टरमा खटाइएको र केही समयपछि पुनः पुरानै स्वास्थ्य चौकीमा फर्काइएको उल्लेख छ।
त्यसैगरी, कार्यस्थलमा हाजिरी व्यवस्थापन, तालिम, गोष्ठी तथा कार्यालयीय बैठकमा समेत समावेश नगरिएको र मानसिक तनाव तथा दबाब भोग्नुपरेको गुनासो समेत उनले व्यक्त गरेकी छन्।
उक्त स्वास्थ्यकर्मीले बाँकी तलब भुक्तानी र आफूलाई भएको अन्यायको छानबिन गरी आवश्यक कारबाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन समेत दिएको जानकारी दिएकी छन्।
हाल उनी सम्बन्धित सरुवा तथा काज व्यवस्थापन प्रक्रिया अनुसार अर्को स्थानमा कार्यरत रहेकी छन्। तर आठ महिनाको तलब अझै नपाएको विषयमा समाधान नआएको भन्दै उनले न्याय र पारदर्शी प्रशासनिक प्रक्रियाको माग गरेकी छन्।
