ललितपुर- नेप्लिज एसोसिएसन फर क्लिनिकल केमिस्ट्री (एनएसीसी) को छैटौँ वार्षिक सम्मेलन तथा महाधिवेशनले स्रोत–साधन सीमित क्षेत्रमा प्रयोगशाला चिकित्साको रूपान्तरणका लागि पोइन्ट अफ केयर टेस्टिङ (पीओसीटी), डिजिटल एकीकरण र गुणस्तरीय निदान सेवाको विस्तारमा जोड दिएको छ।
मे ३०–३१ मा ललितपुरस्थित स्क्वायर होटलमा सम्पन्न सम्मेलनमा नेपाल तथा विदेशका वरिष्ठ प्राध्यापक, क्लिनिकल बायोकेमिस्ट, अनुसन्धानकर्ता तथा युवा वैज्ञानिकहरूको सहभागिता रहेको थियो। अन्तर्राष्ट्रिय क्लिनिकल केमिस्ट्री तथा प्रयोगशाला चिकित्सा महासंघर एसिया–प्रशान्त क्लिनिकल बायोकेमिस्ट्री तथा प्रयोगशाला चिकित्सा महासंघको सहकार्यमा आयोजित सम्मेलनको मुख्य विषय ‘स्रोत–साधन सीमित क्षेत्रमा प्रयोगशाला चिकित्साको रूपान्तरण : पोइन्ट अफ केयर टेस्टिङ, डिजिटल एकीकरण र क्लिनिकल प्रभावको भूमिका’ रहेको थियो।
उद्घाटन समारोहमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा. ओजस्वी शेरचनले रोगको निदान, उपचार तथा अनुगमनमा क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका महत्वपूर्ण रहेको बताए। एनएसीसीका अध्यक्ष प्रा. डा. माधव लम्सालले नेपालमा प्रयोगशाला निदान सेवाको स्वरूप परिवर्तन हुँदै गएको उल्लेख गर्दै डिजिटल प्रविधि र स्वचालित प्रणालीको प्रयोगले निदान त्रुटि घटाउन तथा उपचारको प्रभावकारिता बढाउन सहयोग पुग्ने बताए।
सम्मेलनका आयोजक सचिव डा. रामविनोद महतोले दुर्गम तथा कम स्रोत भएका स्वास्थ्य संस्थामा पोइन्ट अफ केयर टेस्टिङ प्रभावकारी विकल्प बन्न सक्ने बताए। उनका अनुसार यस्ता परीक्षण सेवाले बिरामीको प्रतीक्षा समय घटाएर तत्काल उपचार सुरु गर्न सहज बनाउँछ। सम्मेलनमा सहभागी स्वदेशी तथा विदेशी विज्ञहरूले विकेन्द्रीकृत परीक्षण प्रणालीसँगै कडा गुणस्तर नियन्त्रण आवश्यक रहेकोमा जोड दिएका थिए।
सम्मेलनका क्रममा पोइन्ट अफ केयर टेस्टिङ, कृत्रिम बुद्धिमत्ता, गुणस्तर सुनिश्चितता, प्रारम्भिक रोग पहिचानका बायोमार्कर तथा प्रयोगशाला स्वचालन सम्बन्धी विभिन्न वैज्ञानिक कार्यपत्र प्रस्तुत गरिएको थियो। युवा अनुसन्धानकर्ताहरूले मौलिक अनुसन्धान प्रस्तुत गर्दै यात्रा अनुदानका लागि प्रतिस्पर्धा गरेका थिए। क्लिनिकल बायोकेमिस्ट्री विषयका स्नातकहरूको पेशागत अधिकार तथा सरकारी र निजी स्वास्थ्य क्षेत्रमा उनीहरूको भूमिकाबारे पनि छलफल गरिएको थियो।
सम्मेलनमा मौखिक प्रस्तुति तर्फ युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसका नारायण गौतम उत्कृष्ट घोषित भए। पोस्टर प्रस्तुति विधामा चिकित्सा विज्ञान अध्ययन संस्थानका प्रितम सिंह सुनुवार, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसकी लक्ष्मी पौडेल तथा काठमाडौं विश्वविद्यालय स्कूल अफ मेडिकल साइन्सेसकी बन्जिता न्यौपाने पुरस्कृत भए। यात्रा अनुदान सुजित दास र कुसुम क्षेत्रीले प्राप्त गरे।
सम्मेलनको समापनसँगै एनएसीसीको नयाँ कार्यसमिति चयन गरिएको छ। प्रा. डा. प्रभोध रिसाल अध्यक्ष निर्वाचित भएका छन् भने प्रा. डा. माधव लम्साल तत्कालीन पूर्वअध्यक्ष रहनेछन्। वरिष्ठ उपाध्यक्षमा डा. विजयकुमार शर्मा, उपाध्यक्षमा डा. रामविनोद महतो, महासचिवमा डा. सन्तोष प्रधान, सचिवमा डा. रञ्जन सुवाल तथा कोषाध्यक्षमा राजु कुमार दुबे निर्वाचित भएका छन्।
यसैबीच, एनएसीसी ले नेपालमा क्लिनिकल बायोकेमिस्टहरूको सरकारी दरबन्दी अत्यन्त न्यून रहेको भन्दै चिन्ता व्यक्त गरेको छ। हाल देशभर सार्वजनिक क्षेत्रमा दुईवटा मात्र पद रहेको उल्लेख गर्दै संस्थाले प्रत्येक संघीय अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला तथा तृतीयक अस्पतालहरूमा थप बायोकेमिस्ट पद सिर्जना गर्न सरकारसँग माग गरेको छ। संस्थाले क्लिनिकल बायोकेमिस्ट्रीको कार्यक्षेत्र स्पष्ट परिभाषित गरी पेशागत अधिकार कानुनी रूपमा सुनिश्चित गर्न पनि आग्रह गरेको छ।
सम्मेलनले सातै प्रदेशमा प्रयोगशाला निदान सेवाको मापदण्डीकरण तथा गुणस्तर सुधारका लागि सार्वजनिक स्वास्थ्य निकायसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै समापन भएको छ।