काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजित बजेट, कार्यक्रम तथा शीर्षकगत बजेट पुस्तिका सार्वजनिक गरेको छ।
पुस्तिकामा मन्त्रालयले संघीय स्तरमा सञ्चालन गर्ने कार्यक्रमका साथै प्रदेश र स्थानीय तहमा सशर्त अनुदानमार्फत सञ्चालन हुने कार्यक्रमहरूको विवरण समावेश गरिएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत १५ जेठमा संघीय संसदमा कुल २१ खर्ब २४ अर्ब ३४ करोड ४४ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए। सार्वजनिक बजेट पुस्तिकाअनुसार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र मातहतका निकायका लागि कुल ९३ अर्ब ३७ करोड ७३ लाख रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ४.५४ प्रतिशत हो।
कुल विनियोजनमध्ये संघीय सरकारमार्फत सञ्चालन हुने कार्यक्रमका लागि ५५ अर्ब ९२ करोड २६ लाख रुपैयाँ अर्थात् ५८.०२ प्रतिशत बजेट छुट्याइएको छ। यस रकममा प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरणमार्फत जाने बजेटसमेत समावेश रहेको मन्त्रालयले जनाएको छ।
त्यसैगरी प्रदेश सरकारका लागि ५ अर्ब ६२ करोड ५१ लाख रुपैयाँ (५.८४ प्रतिशत) तथा स्थानीय तहका लागि ३४ अर्ब ८२ करोड ९६ लाख रुपैयाँ (३६.१४ प्रतिशत) विनियोजन गरिएको छ।
मन्त्रालयले सार्वजनिक गरेको पुस्तिकामा संघ, प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने स्वास्थ्यसम्बन्धी कार्यक्रम तथा तिनका लागि छुट्याइएको बजेटको विस्तृत विवरण समेटिएको छ।
बजेट पुस्तिकाका लागि क्लिक गर्नुहोस्