काठमाडौं - भक्तपुर क्यान्सर अस्पतालमा १० हजार बढी क्यान्सर बिरामीको उपचारका लागि प्रयोग भएको 'कोबाल्ट' मेशिनको रेडियोधर्मी विसर्जन गर्न हंगेरी पठाइएको छ ।
२५ वर्ष पुरानो मेसिन उक्त मेसिनको सट्टामा नयाँ प्रविधिको मेसिन आइसकेपछि उक्त मेसिन हंगेरी पठाइएको भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा उज्वल चालिसेले बताए। ‘ मेसिनबाट करिब १० हजार जना बिरामीले सेवा लिइसकेका छन्,’ कार्यकारी निर्देशक डा चालिसेले भने-‘विभिन्न प्रकारका क्यान्सरमा उक्त मेसिनको प्रयोग हुने गर्छ।’
१०० क्यान्सर बिरामीमध्ये ७० प्रतिशत बिरामीका लागि उक्त मेसिन प्रयोगमा आउने डा चालिसेले जानकारी दिए । । रोग निको गर्न देखि दुखाई कम गर्न तथा विभिन्न प्रयोजनका लागि मेसिन प्रयोग हुने गर्छ।
लामो समय प्रयोगविहीन अवस्थामा राख्दा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकोले उक्त मेसिन हंगेरी पठाइएको उनले जानकारी दिए।प्रयोगविहीन अवस्थामा पनि उक्त मेसिनबाट विकिरण आइरहेको हुने,जसले क्यान्सर जस्ता रोगको जोखिम बढाउन सक्ने भएकोले उक्त मेसिन पठाइएको उनको दाबी छ।
मेसिनबाट आउने विकिरणले ब्लड तथा छालाको क्यान्सर गराउन सक्ने डा चालिसेले जानकारी दिए। यसको विसर्जनका लागि करोडौं खर्च लाग्ने गर्छ। विगतमा पनि उक्त मेसिन हंगेरी पठाउने प्रयास गरिएपनि हाल तेस्रो प्रयासमा मात्रै पठाउन सफल भएको डा चालिसेले बताउँछन् ।