काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत नेपालकै पहिलो फर्मा कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्सले राेयल फर्मास्युटिकल्स प्रालिलाई प्राप्ति (एक्विजिसन) गर्ने प्रक्रिया अघि बढाउने भएको छ। बुधबार काठमाडौँको नयाँबानेश्वरस्थित कम्पनी कार्यालयमा दुई पक्षबीच प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो।
सम्झौतामा ओम मेगाश्रीका अध्यक्ष अर्जुनकुमार श्रेष्ठ र रोयल फर्मास्युटिकल्सका तर्फबाट अबिरल नेपाल सहभागी भएका थिए। सहमतिअनुसार दुवै कम्पनीको सिफारिसमा स्वतन्त्र समिति गठन गरी ड्यु डिलिजेन्स (डीडीआई) गरिनेछ। उक्त मूल्याङ्कन प्रतिवेदनका आधारमा अन्तिम प्राप्ति प्रक्रिया अघि बढाइनेछ।
ओम मेगाश्रीका अध्यक्ष श्रेष्ठका अनुसार प्रारम्भिक चरणमा स्वतन्त्र निकायले सम्पूर्ण आर्थिक, प्राविधिक तथा सञ्चालन अवस्थाको अध्ययन गर्नेछ। 'स्ट्याण्डर्ड मापदण्डअनुसार ड्यु डिलिजेन्स सम्पन्न भएपछि आउने सिफारिसका आधारमा प्रक्रिया अगाडि बढ्छ,' उनले बताए।
कम्पनीका अनुसार प्राप्तिपछि उत्पादन क्षमता विस्तार, बजार पहुँच वृद्धि र औषधि व्यवसायमा प्रतिस्पर्धात्मक क्षमता सुदृढ हुने अपेक्षा गरिएको छ। साथै, नयाँ सेगमेन्टमा विस्तार गर्न आवश्यक प्लान्ट तथा संरचनागत लगानीमा पनि सहजता आउने विश्वास व्यक्त गरिएको छ।
श्रेष्ठले यो कदमलाई नेपाली औषधि उद्योगका लागि `ऐतिहासिक´भन्दै कम्पनीहरूको संख्या भन्दा उत्पादन विविधता र गुणस्तर वृद्धि महत्वपूर्ण हुने धारणा राखे। उनका अनुसार, दीर्घकालीन लक्ष्य नेपाललाई औषधिमा आत्मनिर्भर बनाउने रहेको छ।
यसअघि असार २ गते बसेको ओम मेगाश्रीको सञ्चालक समिति बैठकले रोयल फर्मास्युटिकल्सलाई प्राप्ति गर्ने निर्णय गरेको थियो। रोयल फर्मास्युटिकल्स सन् २०१७ मा स्थापना भएको कम्पनी हो, जसका हाल ८२ प्रकारका औषधि उत्पादन बजारमा उपलब्ध छन्। कम्पनीसँग चितवनको बेल्चोकमा डब्लुएचओजीएमपी प्रमाणित उत्पादन प्लान्ट रहेको छ।
यो मर्जर प्रक्रिया पूरा भएमा नेपाली फर्मास्युटिकल उद्योगमा समेकन (कन्साेलिडेसन) बढ्ने र प्रतिस्पर्धात्मक क्षमता थप मजबुत हुने अपेक्षा गरिएको छ।