काठमाडौं- सरकारले बी.पी. कोइराला इन्सिट्युट अफ हेल्थ साइन्सेसलगातका सरकारी चिकित्सा शिक्षा अध्ययन प्रतिष्ठानमा एमबीबीएस विद्यार्थी भर्ना कोटा वृद्धि गर्ने विषयमा सकारात्मक रहेको जनाएको छ। बीपीमा हालकोटा १०० बाट १५० पुर्याउने प्रस्तावप्रति सरकार सहमत रहेको बताइएको छ।
प्रतिनिधिसभा सदस्य हर्कराज राईले प्रतिष्ठानको विद्यार्थी कोटा बढाउनुपर्ने विषय उठाएपछि सरकारका तर्फबाट प्रतिक्रिया दिँदै सम्बन्धित शिक्षा मन्त्री सस्मित पोखरेलले कोटा विस्तारको विषयमा सरकार गम्भीर रहेको बताएका हुन्।
उनका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मात्र नभई देशभरका विभिन्न मेडिकल कलेजहरूको भर्ना क्षमता वृद्धि गर्ने विषयमा निरन्तर छलफल भइरहेको छ। सरकारले ल्याएको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत मेडिकल शिक्षासम्बन्धी संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने प्रतिबद्धता समेटिएको उनले बताए।
सरकारले प्रतिष्ठानको आर्थिक अवस्थासँग जोडिएको अर्को महत्त्वपूर्ण पक्ष विदेशी विद्यार्थी भर्नालाई पनि औंल्याएको छ। विगतमा प्रतिष्ठानमा विदेशी विद्यार्थीहरूको संख्या उल्लेख्य रहेकाले संस्थाको आम्दानी राम्रो हुने गरेको थियो। तर हाल विदेशी विद्यार्थी भर्नासम्बन्धी व्यवस्था सीमित हुँदा प्रतिष्ठानको आम्दानीमा असर परेको गुनासो व्यवस्थापन पक्षले गर्दै आएको सरकारको भनाइ छ। त्यसलाई पनि सम्बोधन गर्ने संकेत उनले गरेका छन्।
सरकारले विदेशी विद्यार्थी भर्ना सम्बन्धी नीतिमा समेत आवश्यक सुधारका विषयमा छलफल भइरहेको जनाएको छ। सांसदको सुझावप्रति सरकार सकारात्मक रहेको र कोटा वृद्धि तथा संस्थाको क्षमता विस्तारका विषयलाई अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरिएको छ।