काठमाडौं- काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि आफ्नै अस्पताल निर्माणलाई प्राथमिकता दिँदै पहिलो वर्षको निर्माण कार्यका लागि ४ करोड रुपैयाँ विनियोजन गरेको छ। कार्यवाहक मेयर सुनिता डंगोल ले बजेट सार्वजनिक गर्दै स्वास्थ्य सेवाको पहुँच विस्तारलाई महानगरको प्रमुख प्राथमिकताका रूपमा प्रस्तुत गरेकी हुन्।
महानगरले बहुवर्षीय योजना अन्तर्गत अस्पताल निर्माण अघि बढाउने घोषणा गरेको छ, जसले स्थानीय तहमा गुणस्तरीय स्वास्थ्य सेवा सुदृढ गर्ने अपेक्षा गरिएको छ।
बजेटमा सामुदायिक स्वास्थ्य सुधारतर्फ पनि विभिन्न कार्यक्रम समेटिएका छन्। टोल–टोलमा योगाभ्यास कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ भने ज्येष्ठ नागरिकलाई लक्षित गर्दै निमोनिया खोपका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ।
त्यसैगरी, क्यान्सर जस्ता असाध्य रोगहरूको प्रारम्भिक निदान तथा उपचार सहजीकरणका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने योजना पनि बजेटमा समावेश गरिएको छ। स्वास्थ्यजन्य फोहर व्यवस्थापनलाई व्यवस्थित बनाउन एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र स्थापना गर्न २ करोड रुपैयाँ छुट्याइएको छ।
निःशुल्क एम्बुलेन्स सेवा कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गर्दै महानगरले आकस्मिक स्वास्थ्य सेवामा पहुँच सुधार गर्ने लक्ष्य लिएको छ।