काठमाडौं- जर्मनीको फेडरल मिनिस्ट्री फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट (बीएमजेड)को उच्चस्तरीय प्रतिनिधिमण्डलले काठमाडौंस्थित परोपकार म्याटर्निटी एन्ड वुमेन्स हस्पिटलको स्थलगत मूल्यांकन तथा अनुगमन भ्रमण गरेको छ।
उक्त प्रतिनिधिमण्डलमा जर्मनीका प्रमुख विकास साझेदार संस्था केएपडब्लु डेभलपमेन्ट बैंक, जीआईजेड तथा पीटीबीका वरिष्ठ प्रतिनिधि तथा प्राविधिक विज्ञहरू सहभागी थिए।
भ्रमणको उद्देश्य नेपाल–जर्मनीबीच सार्वजनिक स्वास्थ्य क्षेत्रमा सञ्चालन भइरहेका संयुक्त कार्यक्रमहरूको प्रगति समीक्षा गर्नु, अस्पतालको स्वास्थ्य पूर्वाधारको अनुगमन गर्नु तथा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउनु रहेको अस्पतालले जनाएको छ।
कार्यक्रमको सुरुवात अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले प्रतिनिधिमण्डललाई स्वागत गर्दै नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको समग्र अवस्थाबारे विस्तृत प्रस्तुति दिएर गरेका थिए।
प्रस्तुतिका क्रममा उनले नेपालले मातृ तथा शिशु मृत्युदर घटाउने क्षेत्रमा हासिल गरेका उपलब्धिहरू उल्लेख गर्दै अझै कायम रहेका पूर्वाधार अभाव, भौगोलिक चुनौती तथा नीतिगत समस्याबारे पनि जानकारी गराए।
उनले परोपकार प्रसूति तथा महिला अस्पताल देशकै प्रमुख तृतीयस्तरीय रेफरल केन्द्रका रूपमा कार्यरत रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय साझेदारहरूको वित्तीय, प्राविधिक तथा संस्थागत सहयोगले नेपालभर मातृ तथा नवजात शिशुको स्वास्थ्य परिणाम सुधार्न महत्वपूर्ण योगदान पुर्याएको बताए।
प्रस्तुतीकरणपछि जर्मन प्रतिनिधिमण्डलले अस्पतालका विभिन्न विभाग, आधुनिक स्वास्थ्य सेवा तथा प्रयोगशाला सुविधाहरूको स्थलगत निरीक्षण गरेको थियो।
नेपाल र जर्मनीबीच मातृ तथा बाल स्वास्थ्य सुधारका क्षेत्रमा दशकौँदेखि घनिष्ठ सहकार्य रहँदै आएको छ। जर्मन सरकारको आर्थिक तथा प्राविधिक सहयोगले नेपालमा स्वास्थ्य सेवा विस्तार, जीवनरक्षक प्रविधि स्थापना तथा स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको छ।
अस्पताल प्रशासनले यस भ्रमणले आगामी दिनमा थप रणनीतिक सहकार्यको ढोका खोल्ने विश्वास व्यक्त गरेको छ। साथै, जर्मन विकास सहयोगसँगको समन्वयमा सञ्चालन भइरहेका स्वास्थ्य कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनलाई निरन्तरता दिने प्रतिबद्धता पनि दोहोर्याएको छ।