धरान - वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीकेआईएचएस)लाई राष्ट्रिय महत्वको संस्थाका रूपमा संरक्षण गर्दै पूर्ण स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा स्तरोन्नति गर्न माग गरिएको छ।
बीपीकेआईएचएस अलुम्नाइ एशोसिएसनले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, शिक्षा मन्त्री सस्मित पोखरेल तथा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सभापति डा. ओजस्वी शेरचनलाई भेटेर ज्ञापनपत्र बुझाउनुको साथै छलफल गरिएको एशोसिएसनका अध्यक्ष डा. ओम शान्ति रजकले जानकारी दिएका छन्।
ज्ञापनपत्रमा प्रतिष्ठानलाई हाल भइरहेको विश्वविद्यालय स्तरोन्नति प्रक्रियामा समावेश नगरिएकोप्रति ध्यानाकर्षण गराउँदै यसलाई न्यायोचित रूपमा समावेश गर्न आग्रह गरिएको छ।
वि.सं. २०४९ मा स्थापना भएको वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ले विगत तीन दशकभन्दा बढी समयदेखि चिकित्सा शिक्षा, स्वास्थ्य सेवा तथा अनुसन्धानका क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको उल्लेख गरिएको छ। ज्ञापनपत्रमा भनिएको छ, 'प्रतिष्ठानबाट उत्पादित दक्ष जनशक्ति नेपालसहित विश्वका विभिन्न मुलुकमा कार्यरत रहेको र यसले नेपालको स्वास्थ्य शिक्षा तथा अनुसन्धानको प्रतिष्ठा अन्तर्राष्ट्रिय स्तरमा उकास्न सहयोग गरेको छ।'
ज्ञापनपत्रअनुसार प्रतिष्ठानमा स्नातकदेखि विद्यावारिधिसम्मका कार्यक्रम सञ्चालन भइरहेको, पर्याप्त भौतिक पूर्वाधार, ठूलो क्षेत्रफल, उच्च बिरामीको चाप, अनुभवी जनशक्ति तथा अनुसन्धानमैत्री वातावरण रहेकोले यसलाई पूर्ण विश्वविद्यालयका रूपमा विकास गर्न सकिने आधार स्पष्ट रहेको उल्लेख छ।
अलुम्नाइ एशोसिएसनले संघीय शासन व्यवस्थाको मर्मअनुसार सक्षम संस्थाहरूको स्वायत्तता र मौलिक पहिचान जोगाउँदै उनीहरूको क्षमता अनुसार विकासका अवसर दिनुपर्नेमा जोड दिएको छ।
चिकित्सा शिक्षामा गुणस्तर, समन्वय र एकरूपता कायम गर्ने प्रयास सकारात्मक भए पनि समान क्षमता भएका संस्थाहरूलाई समान अवसर दिनुपर्ने उनीहरूको भनाइ छ।
ज्ञापनपत्र बुझाउने क्रममा एशोसिएसनले एडभाइजरी बोर्ड सदस्य डा. कुञ्जाङ शेर्पालाई समन्वय र सहयोगका लागि विशेष धन्यवाद दिएको छ। अध्यक्ष डा. ओम शान्ति रजकका अनुसार यो पहल प्रतिष्ठानको अस्तित्व, गरिमा र भविष्य सुरक्षित गर्ने दिशामा एक सार्थक प्रयास हो।