काठमाडौं- स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. केशर ढकालले उमेर हदका कारण सरकारी सेवाबाट अनिवार्य अवकाश पाएका छन्। ६० वर्षे उमेर हदका कारण उनको आज स्वास्थ्य सेवामा अन्तिम दिन हो।
वि.सं. २०५५ सालमा मेडिकल अफिसरका रूपमा सरकारी सेवामा प्रवेश गरेका डा. ढकालले २८ वर्ष लामो समय स्वास्थ्य क्षेत्रमा योगदान पुर्याए। उनले आफ्नो सेवा अवधिको अधिकांश समय अर्थात् २५ वर्ष सुर्खेतमा बिताएका थिए। त्यस क्रममा उनले जिल्ला अस्पताल, तत्कालीन क्षेत्रीय अस्पताल हुँदै प्रादेशिक अस्पतालको निर्देशकसम्मको भूमिका निर्वाह गरेका छन्।
गत वर्ष स्वास्थ्य सेवाको १२ औँ तह (अतिरिक्त सचिव) मा बढुवा भएपछि डा. ढकाल स्वास्थ्य मन्त्रालयमा आएका थिए। त्यसपछि उनलाई स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी दिइएको थियो।
महानिर्देशक पदमै बहाल रहेको समयमा गत महिना बिरामी परेपछि डा. ढकाल बिदामा बसेका थिए। डा ढकाल बिदामा बसेपछि स्वास्थ्य मन्त्रालयले विभागको निमित्तको जिम्मेवारी डा अनुज भट्टचनलाई दिएको थियो।
डा ढकालले आज उमेर हदका कारण आफ्नो २८ वर्षे लामो सरकारी सेवा यात्राबाट औपचारिक रूपमा अवकाश पाएका हुन्।
स्वास्थ्य क्षेत्रमा पुर्याएको उत्कृष्ट योगदानको कदर गर्दै स्वास्थ्य मन्त्रालयले डा. ढकाललाई वि.सं. २०८० सालको स्वास्थ्य सेवा दिवसका अवसरमा 'स्वास्थ्य सेवा पुरस्कार' बाट समेत सम्मानित गरेको थियो।