‘आत्मा के हो? के यो साँच्चै अमर छ?’
मलाई दृढ विश्वास छ- यो केवल दर्शन वा धर्मको मात्र होइन, न्यूरोसाइन्स (मस्तिष्क विज्ञान) को पनि एउटा निकै ठूलो र गम्भीर प्रश्न हो। यसका आफ्नै धार्मिक र दार्शनिक पाटाहरू त छन् नै, तर विज्ञानले पनि यसलाई निकै रोचक ढंगले नियाल्ने गर्छ। आज म मानव आत्माका बारेमा तीनवटा मुख्य प्रश्नमा केन्द्रित हुन चाहन्छु।
पहिलो प्रश्न: के आत्मा हाम्रो भौतिक मस्तिष्कभन्दा फरक, एउटा छुट्टै अस्तित्व हो? आजको आधुनिक भौतिकवादी दृष्टिकोणले भन्छ- हाम्रो मन, चेतना र सोच्ने शक्ति सबै मस्तिष्ककै रासायनिक खेल हुन्। तर के वास्तवमै कुरा त्यत्ति मात्रै हो त? यदि होइन भने, आत्मा के हो र यो कसरी अमर छ?
म मेरो आफ्नै कथाबाट सुरु गर्न चाहन्छु। म एक युवा छँदा भौतिकवादी र नास्तिक थिएँ। मेडिकल कलेज पढ्दा मलाई मस्तिष्कको बनावट (न्यूरोएनाटोमी) र यसको कार्यप्रणाली (न्यूरोफिजियोलोजी) सँग गहिरो प्रेम बस्यो। मलाई लाग्थ्यो- मस्तिष्कका यी सुन्दर र जटिल पत्रहरूलाई नजिकबाट बुझ्न सकेँ भने मैले 'म को हुँ' र 'मानव हुनुको अर्थ के हो' भन्ने शाश्वत सत्य पत्ता लगाउनेछु। पछि मियामी विश्वविद्यालयबाट न्यूरोसर्जरीको तालिम लिएँ र सन् १९९१ देखि स्टोनीब्रुक विश्वविद्यालयमा प्राध्यापकका रूपमा जोडिएँ। आफ्नो करियरमा मैले अहिलेसम्म करिब ७,००० वटा मस्तिष्कको शल्यक्रिया गरिसकेको छु। यो लामो यात्रामा मैले केवल किताब पढेर मात्र होइन, आफ्नै हातले मस्तिष्क उपचारमा सक्रिय रहँदा जीवन्त अनुभवहरूबाट मन र मस्तिष्कको सम्बन्धलाई निकै नजिकबाट नियाल्ने मौका पाएँ।
व्यक्तिगत अनुभवबाट पनि मस्तिष्कले कसरी काम गर्छ र मन तथा मस्तिष्कको सम्बन्ध कस्तो हुन्छ भन्ने कुरा धेरै नजिकबाट सिकेको छु।
यही कामको सिलसिलामा मैले केही यस्ता बिरामीहरू भेटेँ, जसले मस्तिष्कलाई हेर्ने मेरो पुराना भौतिकवादी दृष्टिकोणलाई जरैदेखि हल्लाइदिए। म यहाँ केही वास्तविक मानिसहरूको कथा सुनाउँदै छु। गोपनीयताका लागि मैले उनीहरूको नाम मात्र बदलेको हुँ, तर उनीहरूको मेडिकल रिपोर्ट र कथा शतप्रतिशत सत्य हो।
उपचारको दौरानमा मैले एउटी सानी बच्चीको मस्तिष्क हेरेको थिएँ। उनको एमआरआई पनि म सँग छ। एमआरआई स्क्यानको तस्बिर पढ्न सक्नेले त्यो मस्तिष्क देखेपछि छक्क पर्नेछन्। एमआरआईको स्क्यानमा ती बच्चीको मस्तिस्कमा देखिने जुन कालो भाग छ, त्यो वास्तवमा मस्तिष्कको खाली ठाउँमा भरिने पानी (स्पाइनल फ्लुड) हो र बाँकी रहेको खैरो भाग मात्रै उसको मस्तिष्क हो। ती बच्ची जन्मिँदै आफ्नो मस्तिष्कको करिब दुई-तिहाइ (२/३) भाग बिना जन्मिएकी थिइन्।
उनी सानो छँदा स्क्यान रिपोर्ट हेरेर हामी डाक्टरहरू निकै निराश भएका थियौँ। उनी कहिल्यै सामान्य जीवन जिउन सक्दिनन् होला भनेर हामीले उनको परिवारलाई निकै दुःखद कुराहरू सुनाएका थियौँ। तर समय सधैँ सोचेजस्तो हुँदैन। उनी पूर्ण रूपमा एउटा सामान्य र स्वस्थ मानिसका रूपमा हुर्किइन्। हाईस्कूलमा उनी उत्कृष्ट विद्यार्थीहरूको सूचीमा परिन्। आज तपाईंले उनलाई बाटोमा भेट्नुभयो भने भन्नुहुनेछ- उनी असाध्यै तीक्ष्ण, समझदार र हँसिली युवती हुन्। आफ्नो दुई-तिहाइ मस्तिष्क नै नहुँदा पनि उनको चेतना र बुद्धिमा एउटा सानो दागसमेत छैन।
त्यस्तै अर्को कथा जोशुआको हो। ऊ पनि जन्मिँदा उसको मस्तिष्कको दुई-तिहाइ भाग गायब थियो। त्यहाँ केवल पानी मात्र भरिएको थियो। ऊ जन्मिने बित्तिकै अस्पतालको इथिक्स कमिटीले उसको अवस्था हेरेर 'उसलाई बचाउनुको कुनै अर्थ छैन, त्यसैले खाना नदिईकन बिदा गरिदिऊँ' भन्ने सिफारिस गरेको थियो। तर हामीले त्यो अमानवीय आदेशलाई लत्याएर उसलाई बचायौँ, खाना दियौँ। आज त्यही जोशुआ हाईस्कूल पास गरेर कलेज पढ्दैछ। ऊ खेलकुदमा निकै राम्रो छ र ऊ एउटा उत्कृष्ट युवा बनेको छ।
म्यागी एउटी असाध्यै प्रतिभाशाली युवती हुन्, जो सानैदेखि कुशाग्र बुद्धिकी थिइन्। उनी वास्तवमै एउटा 'जीनियस' हुन्, जबकि उनको सेरेबेलम (सानो मस्तिष्क) को ठूलो हिस्सा र मस्तिष्कको मध्य भाग गायब छ। मस्तिष्कको पानीको दबाब मिलाउन उनको केही शल्यक्रिया त गर्नुपर्यो, तर उनले जीवनमा ठूलो फड्को मारिन्। उनीसँग अंग्रेजी साहित्यमा मास्टर डिग्री छ र उनी एक स्थापित संगीतकार पनि हुन्।
निकोलस नामको अर्को सानो केटो छ, जो सेरेब्रल पाल्सीका कारण शारीरिक रूपमा निकै अशक्त छ। उसको मस्तिष्कका दुवै गोलाद्र्ध (Hemispheres) गायब छन्। उसको टाउकोभित्र मस्तिष्कको नाममा केवल 'ब्रेन स्टेम' मात्र बाँकी छ। ऊ बोल्न सक्दैन, हिँड्न सक्दैन, तर ऊ पूर्ण रूपमा सचेत छ। ऊ निकै रमाइलो केटो छ; ऊ हाँस्छ, रुन्छ र भावनाहरू व्यक्त गर्छ। मस्तिष्कको मुख्य भाग नै नहुँदा पनि भावनात्मक रूपमा ऊ हामीजस्तै सामान्य छ।
यी घटनाहरूले एउटा यस्तो प्रश्न खडा गरिदिन्छन्, जुन सुन्दा सुरुमा अलि अनौठो लाग्छ, तर गहिरिएर हेर्दा यो निकै जायज छ: के मस्तिष्क वास्तवमै हाम्रो मन वा चेतनाको मुख्य अंग हो त? जसरी मुटुले रगत बगाउने काम गर्छ, मिर्गौलाले पिसाब फिल्टर गर्छ- के मस्तिष्कले पनि त्यसरी नै 'मन' बनाउने काम गर्छ त? स्पष्ट रूपमा भन्नुपर्दा, केही हदसम्म त यो हो, तर धेरै गहिरा कुराहरूमा यो पटक्कै होइन।
यो बहसलाई सबैभन्दा पहिले २० औँ शताब्दीको मध्यतिर मोन्ट्रियलका प्रसिद्ध न्यूरोसर्जन वाइल्डर पेनफिल्ड (Wilder Penfield) ले उठाएका थिए, जसलाई हाम्रो चिकित्सा क्षेत्रकै सबैभन्दा महान् वैज्ञानिक मानिन्छ। उनी छारे रोगको शल्यक्रियाका प्रणेता थिए। उनी 'अवेक ब्रेन सर्जरी' गर्थे, जहाँ शल्यक्रिया भइरहँदा बिरामी पूर्ण रूपमा होसमै हुन्थे। टाउकोमा लोकल एनेस्थेसिया मात्र दिइने हुनाले बिरामीलाई दुखाइ हुँदैनथ्यो। पेनफिल्डले छारे रोगको मुख्य केन्द्र पत्ता लगाउन बिरामीको मस्तिष्कको सतहलाई ससाना विद्युतीय तरंग दिएर 'म्यापिङ' गर्थे। उनले आफ्नो पूरा जीवन छारे रोगको अध्ययनमा बिताए र एउटा अनौठो प्रश्न सोधे- 'संसारमा बौद्धिक छारे रोग किन हुँदैन?'
जब कसैलाई छारे रोगको अट्याक हुन्छ र ऊ होसमै छ भने, उसले मुख्य रूपमा चारवटा कुरा महसुस गर्छ: या त उसको हातगोडा अनियन्त्रित रूपमा काँप्छन्, या छालामा केही सर्सराएको जस्तो अनौठो संवेदना हुन्छ, या मनमा अचानक तीव्र डर, हाँसो वा आनन्द जस्ता शक्तिशाली भावनाहरू पैदा हुन्छन्, अथवा पुराना सम्झनाहरू सिनेमाको रिलजस्तै आँखाअगाडि घुम्न थाल्छन्। तर संसारमा आजसम्म कसैलाई पनि यस्तो 'क्याल्कुलस छारे रोग' वा 'गणितीय छारे रोग' लागेको छैन, जहाँ बिरामीले चाहेर पनि हिसाब गर्न रोक्नै नसकोस्। पेनफिल्डले सोचे- यदि मस्तिष्कलाई कृत्रिम रूपमा उत्तेजित गरेर अरू सबै भौतिक भावना र सम्झना बाहिर ल्याउन सकिन्छ भने, हाम्रो अमूर्त सोच (Abstract Thought), तर्क गर्ने क्षमता, दर्शन वा ईश्वरको बारेमा सोच्ने विवेकलाई किन छारे रोगको माध्यमबाट जगाउन सकिँदैन? यसको एउटै मात्र तार्किक जवाफ छ- हाम्रो मनको त्यो बौद्धिक र वैचारिक पाटो मस्तिष्कको घेराभित्र अट्दैन, त्यो अन्तै कतैबाट आउँछ।
उनले यसलाई अझ गहिराईबाट जाँच्न शल्यक्रियाका क्रममा बिरामीहरूको मस्तिष्कको नक्सा नै तयार पारे। उनले मस्तिष्कमा शारीरिक चालको केन्द्र भेट्टाए, संवेदनाको केन्द्र, दृष्टि, श्रवण, भावना र स्मृतिका केन्द्रहरू पनि भेट्टाए। तर अचम्म! उनको त्यो विस्तृत नक्सामा अमूर्त सोच (Abstract Thinking) वा तर्क-विवेकका लागि कुनै पनि केन्द्र भेटिएन।
यस दिशामा सबैभन्दा क्रान्तिकारी काम रोजर स्पेरी (Roger Sperry) र उनका सहकर्मीहरूले गरे, जसका लागि स्पेरीले सन् १९८१ मा नोबेल पुरस्कार पाए। त्यतिबेला मस्तिष्कको एउटा पाटोबाट अर्को पाटोमा फैलिने भयानक छारे रोगलाई रोक्न एउटा शल्यक्रिया गरिन्थ्यो (जसलाई Corpus Callostomy भनिन्छ)। यसमा मस्तिष्कका दुई गोलाद्र्धहरूलाई आपसमा जोड्ने नसाको पुललाई बीचैबाट काटिन्थ्यो, जसले गर्दा मस्तिष्कका दुई भागहरू एकअर्काबाट पूर्ण रूपमा अलग हुन्थे।
स्पेरीले महसुस गरे कि अब मस्तिष्कका दुवै भागले छुट्टाछुट्टै के काम गर्छन् भनेर अध्ययन गर्ने ढोका खुल्यो। उनले पत्ता लगाए कि देब्रे मस्तिष्कले बोली नियन्त्रण गर्छ र दाहिने मस्तिष्कले दिशा वा स्थानको ज्ञान। तर यो अनुसन्धानका क्रममा उनले र पछि मैले पनि एउटा अचम्मको कुरा देख्यौँ- मस्तिष्क बीचबाट दुई टुक्रा पारिएका मानिसहरू पनि भेट्दा पूर्ण रूपमा सामान्य देखिन्थे। उनीहरू हिँड्थे, बोल्थे र आफूलाई सामान्य महसुस गर्थे। यो कस्तो कुरा भयो भने, यदि कसैले एउटा चल्तीको ल्यापटपलाई बीचबाट आराले काटेर दुई टुक्रा पारिदियो, तर त्यो ल्यापटप अझै पनि उत्तिकै राम्रोसँग चलिरहेको छ! यसले केही त अनौठो संकेत गर्छ नि, होइन र?
यस सम्बन्धी फलो-अप अनुसन्धानले मलाई अझै पनि रोमाञ्चित बनाउँछ। मोन्ट्रियलको म्यागिल विश्वविद्यालयकी अनुसन्धानकर्ता जस्टिन सर्जेन्ट (Justine Sergent) ले स्प्लिट-ब्रेन (मस्तिष्क काटिएका) बिरामीहरूमाथि एउटा चलाखीपूर्ण प्रयोग गरिन्। उनले दुवै मस्तिष्कलाई एकै समयमा छुट्टाछुट्टै चित्रहरू (जस्तै तीरका चिन्हहरू) देखाइन्। दाहिने मस्तिष्कले एउटा तीर देख्थ्यो र देब्रेले अर्को, तर मस्तिष्कको कुनै पनि एउटा भागले दुवै तीर सँगै देख्न पाउँदैनथ्यो। जब उनले बिरामीहरूलाई सोधिन्- 'के यी तीरहरू एउटै दिशामा फर्किएका छन्?'
अचम्मको कुरा, बिरामीहरूले सधैँ सही जवाफ दिए! अब सोच्नुहोस् त, मस्तिष्कको कुनै पनि एक भागले दुवै तीर सँगै नदेखेको अवस्थामा उनीहरूले कसरी ती तीरहरूको तुलना गर्न सके? यसको एउटै निष्कर्ष थियो- हाम्रो मनमा यस्तो केही तत्व छ जुन यो भौतिक मस्तिष्कको सीमाभन्दा माथि छ।
याइर पिन्टोले यसलाई अझ अगाडि बढाए। उनले यस्ता बिरामीहरूको एउटा आँखालाई 'बेसबल' र अर्को आँखालाई 'फुटेको झ्याल' को चित्र देखाए। जब उनले बिरामीलाई सोधे, 'तिमीले के देख्यौ? के भयो?' बिरामीहरूले सधैँ जवाफ दिए- 'बेसबलले झ्याल फुटायो।' जब कि मस्तिष्कको कुनै पनि एक हिस्साले ती दुवै चित्र सँगै देखेकै थिएन। स्पष्ट छ, मनमा त्यस्तो केही छ जुन मस्तिष्कभित्र मात्र सीमित छैन।
वाइल्डर पेनफिल्डले 'स्वतन्त्र इच्छा' माथि पनि अध्ययन गरे। अवेक ब्रेन सर्जरीका क्रममा उनले बिरामीको मस्तिष्कको एउटा निश्चित ठाउँमा कृत्रिम उत्तेजना दिँदा बिरामीको हात आफैँ माथि उठ्थ्यो। उनले बिरामीहरूलाई बेलाबेलामा आफैँ (डाक्टरले नलगाईकन) पनि हात उठाउन भन्थे। बिरामीहरू सर्जिकल कपडाले छोपिएका हुनाले डाक्टरले के गर्दैछ देख्न सक्दैनथे। पेनफिल्डले उनीहरूलाई सोध्थे- 'जब तपाईंको हात माथि गयो, त्यो तपाईं आफैँले उठाउनुभएको हो कि मैले उठाइदिएको हुँ?' र ११०० बिरामीहरूमा गरिएका हजारौँ परीक्षणहरूमा संसारको कुनै पनि बिरामीले कहिल्यै गल्ती गरेनन्। उनीहरूले सधैँ सही छुट्याए। यसबाट के देखियो भने, मस्तिष्कमा 'स्वतन्त्र इच्छा' उत्पन्न गर्ने कुनै भौतिक केन्द्र नै छैन। स्वतन्त्र इच्छा मस्तिष्कको मेकानिकल कार्य होइन।
बेन्जामिन लिबेटको 'फ्री विल' सम्बन्धी अनुसन्धान त झन् विश्वप्रसिद्ध छ। उनले सामान्य मानिसहरूको टाउकोमा विद्युतीय सेन्सरहरू जोडेर एउटा प्रयोग गरे। उनले फेला पारे कि जब तपाईं कुनै साधारण काम (जस्तै बत्तीको स्विच अन गर्ने) निर्णय गर्नुहुन्छ, त्यो निर्णयको सचेत ज्ञान हुनुभन्दा करिब आधा सेकेन्ड पहिले नै मस्तिष्कमा एउटा विद्युतीय तरंग आइसकेको हुन्छ। सुरुमा त लाग्यो- ओहो! यसको मतलब त सबै कुरा मस्तिष्कले नै पहिल्यै तय गरिसक्दो रहेछ, हामीसँग त कुनै स्वतन्त्र इच्छा नै रहेनछ, हामी केवल रसायनका कठपुतली मात्र रहेछौँ।
तर लिबेट निकै चतुर वैज्ञानिक थिए। उनले प्रयोगलाई अलिकति मोडे र मानिसहरूलाई भने- 'जब तपाईं स्विच थिच्न लाग्नुहुन्छ, अन्तिम क्षणमा आफ्नो विचार बदल्नुहोस् र त्यो निर्णयलाई रोक्नुहोस्।' र अचम्मको कुरा, त्यो निर्णय रोक्ने प्रक्रियामा मस्तिष्कमा कुनै पनि विद्युतीय तरंग वा हलचल देखिएन। त्यसैले उनले भने कि- विज्ञानले 'फ्री विल' भन्दा पनि 'फ्री वोन्ट' (Free Won't - नगर्ने स्वतन्त्रता) प्रमाणित गरेको छ। हाम्रो मस्तिष्कले हामीलाई विभिन्न प्रलोभन वा इच्छाहरू (जस्तै: त्यो थप केकको टुक्रा खाऊ) फ्याँकिरहन्छ, तर त्यो गर्ने वा रोक्ने अन्तिम साँचो हाम्रो आत्मिक इच्छामा हुन्छ, किनकि 'नगर्ने' निर्णय गर्दा मस्तिष्कमा कुनै नयाँ भौतिक गतिविधि हुँदैन। यो मस्तिष्कको नियन्त्रणभन्दा बाहिर छ।
एड्रियन ओवेनको अनुसन्धान त झन् हृदयस्पर्शी छ। उनले 'परसिस्टेन्ट भेजिटेटिभ स्टेट' अर्थात् कोमाको सबैभन्दा गहिरो अवस्थामा रहेका बिरामीहरूमा अध्ययन गरे। यो यस्तो अवस्था हो जहाँ मानिसको मस्तिष्क गम्भीर रूपमा क्षतिग्रस्त भइसकेको हुन्छ र समाजले उसलाई 'एक जीवित वनस्पति' मानिसकेको हुन्छ, जसको मन र चेतना पूर्ण रूपमा समाप्त भयो भन्ने ठानिन्छ।
ओवेनले ती बिरामीहरूलाई फंक्सनल एमआरआई (fMRI) मेसिनभित्र राखेर हेडफोनबाट भने- 'तपाईं आफ्नो कोठामा हिँडिरहेको कल्पना गर्नुस् वा टेनिस खेलिरहेको सोच्नुस्।' र अचम्म! उनीहरूको त्यो लगभग मृत भइसकेको मस्तिष्कका ठीक तिनै भागहरू चम्किए (Light up भए), जुन एउटा चल्दाबल्दा सामान्य मानिसले सोच्दा चम्किन्छन्। यसको मतलब उनीहरूले बाहिरको कुरा सुन्दै मात्र थिएनन्, त्यसलाई बुझेर सोच्दै पनि थिए। जब ओवेनले तिनै शब्दहरूलाई उल्टोपाल्टो पारेर सोधे (जसको कुनै अर्थ आउँदैनथ्यो), तब मस्तिष्क पूर्ण रूपमा शान्त रह्यो। यस अनुसन्धानले के देखाएका छ भने, गहिरो कोमामा रहेका करिब ४० प्रतिशत बिरामीहरूसँग हाम्रो चेतनाले सञ्चार गर्न सक्छ। उनीहरू कोमाभित्रै गणितको हिसाब गर्न सक्छन् र आफ्नो पारिवारिक इतिहासको सही जवाफमा मस्तिष्क चम्काउन सक्छन्।
त्यस्तै, 'मृत्युको नजिकको अनुभव' (Near-Death Experiences - NDE) त मन र मस्तिष्क अलग हुने सबैभन्दा ठूलो प्रमाण हो। चिकित्सा इतिहासमा दर्ता भएका यस्ता धेरै घटनाहरू छन्, जसलाई पछि डाक्टरहरूले नै प्रमाणित गरेका छन्। यसको सबैभन्दा गतिलो उदाहरण सन् १९९९ की बिरामी पाम रेनाल्ड्सको हो। उनको मस्तिष्कको जटिल शल्यक्रिया गर्न डाक्टरहरूले उनको शरीरको तापक्रम ५० डिग्रीमा झारेर, मुटुको धड्कन पूर्ण रूपमा बन्द गरेर, मस्तिष्कको सबै रगत बाहिर निकालेका थिए। उनी चिकित्सकीय रूपमा पूर्ण रूपमा 'मृत' (Brain-dead) थिइन्।
तर जब शल्यक्रिया सफल भयो र उनलाई होस आयो, उनले रिकभरी रुममा भनिन्- 'डाक्टर, मैले मेरो आफ्नै शल्यक्रिया माथिबाट हेरिरहेकी थिएँ।' उनले आफ्नो चेतना शरीरबाट बाहिर निस्केर सिलिङमा तैरिएको र त्यहाँबाट डाक्टरहरूले गरेका कुराकानी, शल्यक्रियाका अनौठा औजारहरू र कोठामा बजिरहेको संगीतको दुरुस्त विवरण दिइन्, जुन शतप्रतिशत सही थियो।
N-D-E को अध्ययनमा एउटा साझा र अचम्मको ढाँचा छ। मानिसहरू एउटा सुरुङबाट भित्र जान्छन् र अर्को छेउमा आफ्ना स्वर्गीय आफन्तहरूलाई भेट्छन्। चिकित्सा इतिहासमा आजसम्म कुनै पनि यस्तो घटना छैन, जहाँ कसैले सुरुङको अर्को छेउमा अझै जीवितै रहेको कुनै व्यक्तिलाई देखेको होस्। त्यहाँ केवल मरिसकेका मानिसहरू मात्र देखिन्छन्। यहाँसम्म कि दुर्घटनामा आफ्नो कुन साथी मर्यो भन्ने कुरा अस्पतालको बेडमा होस नआउन्जेल थाहा नपाएका बिरामीले पनि सुरुङको पारि सोही मृत साथीलाई मात्र देख्छन्, बाँचेकाहरूलाई देख्दैनन्।
धेरै मानिसहरू मलाई १९ औँ शताब्दीका फिनेस गेजको उदाहरण दिन्छन्, जसको मस्तिष्कमा फलामको रड आरपार हुँदा उनको व्यवहार र व्यक्तित्व बदलिएको थियो। मानिसहरू भन्छन्-के यसले मस्तिष्कले नै मन चलाउँछ भन्ने देखाउँदैन? तर वास्तविकता के हो भने, उनको चोटले उनको भावनात्मक व्यवहार त बदलियो, तर उनको गणितीय क्षमता, तर्क वा विवेक गर्ने बौद्धिक क्षमतामा कुनै परिवर्तन आएन। मस्तिष्कमा चोट लाग्दा हाम्रो व्यवहार बदलिन सक्छ, तर यसको मतलब हाम्रो चेतनाको हरेक अंश मस्तिष्ककै उपज हो भन्ने होइन।
आजको एआईको युगमा धेरैले सोध्छन्- के हाम्रो मन पनि एउटा कम्प्युटर जस्तै गणना गर्ने (Computational) प्रणाली हो? होइन, यो पटक्कै होइन। एउटा सरल कारण छ: हाम्रो मनमा भएका हरेक विचारको एउटा निश्चित अर्थ र उद्देश्य हुन्छ, जसलाई दर्शनशास्त्रमा 'एबाउटनेस' (Aboutness - कुनै कुराको बारेमा हुनु) भनिन्छ। तर कम्प्युटर वा एआईको गणनामा कुनै 'एबाउटनेस' हुँदैन। एउटा वर्ड प्रोसेसरलाई तपाईंले लेखिरहनुभएको निबन्धको विचारसँग कुनै सरोकार हुँदैन; तपाईंले त्यसको पक्षमा लेख्नुस् वा विपक्षमा, उसलाई केही फरक पर्दैन। एउटा क्यामेरालाई तपाईंले सुन्दर सूर्यास्तको तस्बिर खिचिरहनुभएको छ कि फोहोरको थुप्रोको, कुनै मतलब हुँदैन। कम्प्युटरमा अर्थ हुँदैन, अर्थ त हामी मानिसले त्यसमा भर्ने हो। त्यसैले मन कम्प्युटर होइन, यो त कम्प्युटरको ठीक विपरीत कुरा हो।
त्यसोभए, के मनको विकास क्रमिक विकास (Evolution) बाट भएको हो? म त मनको विकास क्रमिक विकासबाट भएको हो भन्ने कुरा पटक्कै विश्वास गर्दिनँ। किनभने प्राकृतिक छनोट (Natural Selection) ले केवल भौतिक र जैविक चीजहरूमा मात्र काम गर्न सक्छ। तर हामीले देखिसक्यौँ कि- हाम्रो मन वा चेतनाको मुख्य हिस्सा भौतिक होइन। जुन कुरा पदार्थ (Matter) को दायराभित्रै पर्दैन, त्यसलाई तपाईं क्रमिक विकासको माध्यमबाट विकसित गर्नै सक्नुहुन्न।
त्यसैले, 'के मस्तिष्क मनको अंग हो?' भन्ने प्रश्न सुन्दा सुरुमा जतिसुकै अजीब लागे पनि यो एकदमै गम्भीर प्रश्न हो। हाम्रो तर्क गर्ने क्षमता र हाम्रो स्वतन्त्र इच्छालाई मस्तिष्कको कुनै पनि कुनालाई चलाएर पैदा गर्न सकिँदैन। त्यसैले एउटा न्यूरोसर्जनका रूपमा मेरो वैज्ञानिक निष्कर्ष यही हो: मस्तिष्क केवल शारीरिक चाल, अनुभूति, स्मृति र भावनाहरूको अंग हो। यी कुराहरू निश्चित रूपमा मस्तिष्कबाटै आउँछन्। तर हाम्रो बुद्धि (Intellect) र इच्छाशक्ति (Will) को कुनै भौतिक अंग हुँदैन।
पक्कै पनि, बुद्धिको सामान्य कार्यका लागि मस्तिष्क स्वास्थ्य हुन आवश्यक छ। कसैले टाउकोमा ठूलो चोट लगाइदियो भने तपाईं क्याल्कुलसको हिसाब गर्न सक्नुहुन्न, वा रक्सीले मस्तिष्क लठ्ठिँदा इच्छाशक्ति कमजोर हुन सक्छ। तर यसको अर्थ बुद्धि र इच्छाशक्ति मस्तिष्ककै उपज हुन् भन्ने होइन।
त्यसैले पहिलो प्रश्नको जवाफ हो- हो, आत्माको अस्तित्व छ। आत्मा नै त्यो शक्ति हो जसले एउटा मानव शरीरलाई जीवित र सचेत बनाउँछ। आत्माको एउटा हिस्सा मस्तिष्कसँग जोडिएको छ (जस्तै हिँड्नु, महसुस गर्नु, सम्झिनु); तर यसको अर्को हिस्सा हाम्रो त्यो अमूर्त क्षमता हो, जुन यो भौतिक संसारभन्दा माथि छ।
त्यसोभए वास्तवमा आत्मा के हो त? यो पदार्थ र स्पिरिट (Spirit) को एउटा अद्भुत मिश्रण जस्तो हो। यसले ज्ञान राख्छ, यसले प्रेम गर्छ र यसले हामीलाई जीवित राख्छ। यसको कुनै भौतिक टुक्रा हुँदैनन्; मस्तिष्कलाई बीचबाट काट्दा पनि आत्मा काटिँदैन। यसको कुनै निश्चित भौतिक स्थान हुँदैन र यो समयको बन्धनमा पनि हुँदैन। यो शरीरको मृत्यु पछि पनि अस्तित्वमा रहिरहन्छ।
हामी यो धर्तीका एकमात्र यस्ता जीव हौँ जसको आत्मा एउटा आध्यात्मिक 'स्पिरिट' हो। जनावर वा बोटबिरुवाको पनि आत्मा त हुन्छ, जसले उनीहरूलाई बचाउँछ र चलाउँछ, तर उनीहरूको आत्मा पूर्ण रूपमा भौतिक प्रकृतिमा सीमित हुन्छ। जनावरहरूले क्याल्कुलस पढ्दैनन्, उनीहरू ईश्वरको बारेमा सोच्दैनन् र उनीहरूसँग नैतिक 'स्वतन्त्र इच्छा' हुँदैन। हामी मात्र आध्यात्मिक आत्मा भएका जीव हौँ। र म फेरि भन्छु- यसका लागि जति बलियो धार्मिक वा दार्शनिक तर्क छ, त्यत्तिकै अकाट्य वैज्ञानिक प्रमाण पनि छ।
र सत्य सधैँ एउटै हुने भएकाले यी सबै तर्कहरू एकै ठाउँमा आउनै पर्छ, र वास्तवमा ती मिल्छन् पनि। हामी सम्पूर्ण सृष्टिका एउटा यस्तो नमूना हौँ, जसको एउटा खुट्टा पदार्थ (Matter - शरीर, भावना, स्मृति) मा छ र अर्को खुट्टा स्पिरिट (Spirit - बुद्धि, विवेक, स्वतन्त्र इच्छा) मा छ। यसैलाई धर्मशास्त्रीहरूले 'द ग्रेट चेन अफ बिइङ' भनेका छन्।
अब अन्तिम प्रश्न- के हाम्रो आत्मा अमर छ? कसैले सोच्न सक्छ- 'ठिकै छ, हामीसँग आत्मा त होला, तर जब हाम्रो शरीर मर्छ, तब यो आत्मा पनि बत्ती निभे झैँ निभेर हराएर जान्छ होला नि?' तर सोच्नुहोस् त- के एउटा अभौतिक स्पिरिट कहिल्यै मर्न सक्छ? मृत्यु भनेको के हो?
एउटा कुर्ची, एउटा रुख वा एउटा कुकुर कसरी मर्छन्? एउटा कुर्ची नष्ट हुनु भनेको त्यो काठको धुलोमा परिणत हुनु हो। कुर्चीमा भएको भौतिक पदार्थ कतै हराएर जाँदैन, तर त्यसको स्वरूप विखण्डित हुन्छ। रुख कुहिएर माटोमा मिल्छ, शरीर माटोमा सड्छ। त्यसैले, जीवन भनेको भौतिक पदार्थहरूको एकीकरण हो, र मृत्यु भनेको ती पदार्थहरूको विखण्डन हो। भौतिक शरीर त विखण्डित हुन सक्छ, तर जुन कुरा भौतिक पदार्थले बनेकै छैन, त्यो कसरी विखण्डित हुन सक्छ?
यसलाई बुझ्न 'अंक ८' (Number 8) को उदाहरण लिऊँ। अंक ८ लाई दुई तरिकाले हेर्न सकिन्छ: एउटा कागजमा लेखिएको अंक ८, र अर्को हाम्रो मनमा भएको अंक ८ को धारणा वा विचार। कागजमा लेखिएको 'अंक ८' लाई तपाईंले आगोमा जलाएर खरानी बनाउन सक्नुहुन्छ, त्यो नष्ट हुन्छ। तर के हाम्रो सोचमा रहेको, गणितमा रहेको वैचारिक 'अंक ८' कहिल्यै मर्न सक्छ? तपाईंले विश्वविद्यालयको गणित विभागबाट कहिल्यै यस्तो दुःखद सूचना सुन्नुहुने छैन कि- 'हिजो राती अंक ८ को असामयिक निधन भयो, त्यसैले अबदेखि गन्ती गर्दा ६, ७ पछि सिधै ९ गन्नुहोला।' अंकहरू कहिल्यै मर्दैनन्। अमूर्त विचारहरू कहिल्यै मर्दैनन्, र स्पिरिटहरू पनि कहिल्यै मर्दैनन्। भौतिक पदार्थ विखण्डित हुन्छ, तर स्पिरिटहरू कहिल्यै विखण्डित हुन सक्दैनन्। हाम्रो यो अमरत्व प्राकृतिक हो, हाम्रो आत्माको कुनै 'अफ स्विच' हुँदैन।
मलाई धेरै वर्षदेखि एउटा प्रश्नले निकै घत पारेको थियो- Near-Death Experiences (NDE) मा मानिसहरूले भौतिक आँखा बन्द भएको वा मस्तिष्क मृत भएको अवस्थामा पनि कसरी त्यति सुन्दर र अलौकिक दृश्यहरू देख्न सक्छन्? आँखा बिना कसरी देख्न सम्भव छ?
करिब एक हजार वर्ष पहिले सेन्ट थॉमस एक्विनासले यसको निकै सुन्दर जवाफ दिएका थिए। उनले एउटा उपमा दिँदै भनेका थिए- 'कल्पना गर्नुहोस्, यो धर्तीको जीवन भनेको रातीको समयमा एउटा रंगीन सिसा भएको चर्चभित्र बस्नु जस्तै हो, जहाँ भित्र केही मैनबत्तीहरू बलिरहेका छन्। त्यहाँ चर्चभित्र मधुरो उज्यालो त छ, तपाईं चीजहरू देख्न सक्नुहुन्छ, तर बाहिर पूर्ण रूपमा अँध्यारो छ। अब कल्पना गर्नुहोस् कि बिस्तारै बाहिर उज्यालो हुँदैछ तर चर्चभित्र अझै अँध्यारो नै छ, र ठ्याक्कै त्यही बेला ती मैनबत्तीहरू निभ्छन्- त्यो मैनबत्ती निभ्नु नै हाम्रो भौतिक मृत्यु हो। तर जस्तै तपाईं चर्चको ढोका बाहिर निस्किनुहुन्छ र पूर्ण रूपमा सूर्य उदाउँछ, अचानक तपाईंले अविश्वसनीय र सुन्दर दृश्यहरू देख्नुहुन्छ; किनभने अब तपाईं भित्रको मधुरो मैनबत्तीको प्रकाशले होइन, बाहिर रहेको ब्रह्माण्डको अलौकिक र दिव्य प्रकाश (डिभाइन लाइट) को माध्यमबाट देखिरहनुभएको हुन्छ।'
मृत्युको नजिक पुग्दा मानिसहरूले देख्ने प्रकाश भौतिक आँखाको होइन, त्यही दिव्य प्रकाश हो।
धेरै-धेरै धन्यवाद।
- यो सामग्री प्रसिद्ध अमेरिकी न्यूरोसर्जन डा. माइकल एग्नर (Dr. Michael Egnor) ले मन, मस्तिष्क र आत्माको अस्तित्वबारे राख्नुभएको वैज्ञानिक एवं दार्शनिक दृष्टिकोणमा आधारित छ। यो महत्वपूर्ण प्रस्तुति डिस्कभरी इन्स्टिच्युटको सेन्टर फर साइन्स एन्ड कल्चर (Discovery Institute's Center for Science & Culture) अन्तर्गतको आधिकारिक युट्युब च्यानल ‘डिस्कभरी साइन्स न्युज’ (Discovery Science News Channel) बाट साभार गरिएको हो।
हेरौं भिडियो :