बेलायतमा हरेक वर्ष करिब ६०,००० मानिसको जीवन एकै पलमा बदलिन्छ- जब उनीहरू अचानक 'सडन कार्डियक अरेस्ट'को शिकार हुन्छन्। यो अवस्था काम गरिरहेको बेला, खेलकुदको क्रममा वा आराम गरिरहेको बेला जुनसुकै समयमा पनि आउन सक्छ। मुटु अचानक रोकिँदा मानिसहरू ढल्छन्, बोल्न सक्दैनन् र केही मिनेटमै स्थिति निकै नाजुक बन्न पुग्छ। अस्पताल बाहिर यस्तो घटना हुँदा जीवन बचाउने सम्भावना निकै कम हुन्छ। तथ्याङ्कले भन्छ, १० मध्ये १ जनाभन्दा पनि कम मानिस मात्र बाँच्न सक्छन्।
तर, कहिलेकाहीँ अवस्था अर्कै मोडमा मोडिन सक्छ। कुनै रेलवे स्टेशन, सपिङ सेन्टर वा खेल मैदानमा कोही व्यक्ति अचानक ढल्छ। मानिसहरू डराउँछन्, तर त्यही भीडमा कोही एक जना साहसी व्यक्ति अघि सर्छ। उसले तुरुन्तै सीपीआर सुरु गर्छ, छातीमा दबाब दिन्छ र नजिकै रहेको एईडी (अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर) मेसिन लिएर आउँछ। मेसिन अन हुनेबित्तिकै त्यसले शान्त स्वरमा निर्देशन दिन थाल्छ- 'प्याडहरू टाँस्नुहोस्', 'बिरामीलाई नछुनुहोस्', 'शक दिनुहोस्'। केही मिनेटको त्यो कडा सङ्घर्षपछि मुटुले फेरि धड्कन सुरु गर्छ र मृत्युको मुखबाट जीवन फर्कन्छ।
सन् २०१२ मा फुटबल खेलाडी फाब्रिस मुम्बा खेलकै क्रममा कार्डियक अरेस्ट भएर ढलेका थिए। उनको मुटु झन्डै ७८ मिनेटसम्म बन्द अवस्थामा थियो, तर सीपीआर र एईडीको प्रयोगले उनको ज्यान बच्यो। यो घटनाले बेलायतमा 'पब्लिक एक्सेस डिफिब्रिलेटर' को महत्त्वलाई सबैको सामु स्पष्ट पारिदियो।
बेलायतमा यस्ता सफल बचाउका उदाहरणहरू प्रशस्त छन्। त्यसैले यहाँ सीपीआर र एईडी चलाउनु केवल डाक्टरको मात्र जिम्मेवारी नभई एक सामान्य नागरिकको कर्तव्य पनि मानिन्छ। विशेष मेडिकल तालिम नभए पनि थोरै जानकारी वा मेसिनको आवाजपूर्ण निर्देशनले जो कोहीले पनि आपत्कालीन अवस्थामा जीवन बचाउन सक्छन्।
वास्तवमा, सीपीआर भनेको मुटु अचानक बन्द भएको वा सास रोकिएको अवस्थामा गरिने एक महत्त्वपूर्ण प्राथमिक उपचार हो। यस्तो बेला शरीरमा अक्सिजन र रगतको प्रवाह रोकिन्छ, जसले मस्तिष्क र अन्य अङ्गहरूलाई क्षति पुर्याउन सक्छ। सीपीआर गर्दा छातीको बीच भागमा हातले लगातार दबाब (चेष्ट कम्प्रेसन्स) दिइन्छ, जसले मुटुले काम गरिरहेको जस्तै कृत्रिम प्रवाह कायम राख्छ। कहिलेकाहीँ आवश्यक परेमा मुखबाट कृत्रिम सास (Rescue breaths) पनि दिइन्छ। यसको मुख्य उद्देश्य एम्बुलेन्स वा विशेषज्ञ नआउन्जेल बिरामीलाई जीवित राख्नु हो। यदि समयमै र सही तरिकाले सीपीआर दिइयो भने बाँच्ने सम्भावना नाटकीय रूपमा बढ्छ।
मानिसको जीवन निकै अनिश्चित छ। चिकित्सा विज्ञानले धेरै प्रगति गरे पनि कार्डियक अरेस्ट जस्ता सङ्कटहरू अझै पनि ठूलो चुनौती हुन्। कार्डियक अरेस्टमा समय नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ। अनुसन्धानले देखाउँछ कि उपचारमा प्रत्येक एक मिनेटको ढिलाइले बाँच्ने सम्भावना ७ देखि १० प्रतिशतले घटाउँदै लैजान्छ। अस्पताल बाहिर हुने घटनामा बाँच्ने दर निकै कम हुनुले बेलायतको जनस्वास्थ्य प्रणालीलाई नयाँ चुनौती दिएको छ, जसलाई सामना गर्न सरकारले एईडी को पहुँच बढाउने र जनचेतना फैलाउने काम व्यापक रूपमा गरिरहेको छ।
एईडी एउटा यस्तो आधुनिक मेसिन हो, जसले मुटुको असामान्य धड्कन पहिचान गरी आवश्यक परेमा विद्युतीय झट्का दिएर मुटुको लय सामान्य बनाउँछ। पहिले यस्तो कामका लागि अस्पतालको जटिल उपकरण र विशेषज्ञ चाहिन्थ्यो, तर अहिले एईडी ले यो सुविधा सर्वसाधारणको हातमा पुर्याएको छ। यसको सबैभन्दा ठूलो विशेषता भनेको यसले आफैँ निर्देशन दिने क्षमता राख्नु हो। यसले बिरामीको अवस्था आफैँ विश्लेषण गर्छ र यदि शक आवश्यक छ भने मात्र प्रयोगकर्तालाई निर्देशन दिन्छ, जसले गर्दा सामान्य मानिस पनि बिना डर आत्मविश्वासका साथ प्रयोग गर्न सक्छन्।
बेलायतमा केवल स्वास्थ्यकर्मीलाई मात्र होइन, शिक्षक, कोच, सुरक्षा गार्ड, कार्यालयका कर्मचारी र स्वयंसेवकहरूलाई पनि आधारभूत तालिम दिने नीति छ। 'ब्रिटिस हार्ट फाउन्डेसन' जस्ता संस्थाहरूले पनि यस्ता छोटो र प्रभावकारी तालिम कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्।
आज बेलायतका व्यस्त स्टेशन, एयरपोर्ट, सपिङ सेन्टर, जिम र विद्यालयहरूमा एईडी को उपलब्धता सुनिश्चित गरिएको छ। मानिसहरूको चहलपहल बढी हुने ठाउँमा यी उपकरणहरू राखिनुको मुख्य उद्देश्य नै कुनै पनि आकस्मिक सङ्कटमा समयमै सहयोग पुर्याउनु हो। यसरी, साधारण मानिसको सानो साहस र प्रविधिको सही प्रयोगले धेरै जीवनहरू 'मृत्यु' को छायाबाट बाहिर निकालेर 'जीवन' तर्फ डोर्याइरहेको छ।
पछिल्ला वर्षहरूमा एउटा निकै रोचक परिवर्तन देखिन थालेको छ; ती पुराना राता फोन बुथहरू अहिले एईडी राख्ने ठाउँका रूपमा प्रयोग हुन थालेका छन्। मोबाइलको प्रयोग बढ्दै गएपछि काम नलाग्ने भएका ती फोन बुथहरूलाई स्थानीय समुदायले निकै कुशलतापूर्वक पुनर्जीवित गर्दै जीवन बचाउने केन्द्रमा बदलेका छन्। विशेषगरी गाउँघर वा दुर्गम क्षेत्रहरूमा, जहाँ एम्बुलेन्स आउन ढिलो हुन सक्छ, त्यहाँ यी फोन बुथहरूले जीवन जोगाउन महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्।
जनस्वास्थ्यको दृष्टिकोणबाट हेर्दा, एईडी को उपलब्धता र यससम्बन्धी सचेतनाले समाजमा एउटा सुरक्षा कवच जस्तै काम गरेको छ। जब मानिसहरूलाई आफ्नो वरिपरि रहेका यस्ता उपकरण र तिनको प्रयोगबारे जानकारी हुन्छ, तब समुदायको सामूहिक क्षमता स्वतः बढ्छ। बेलायतमा विद्यालय, कार्यस्थल र समुदायमा दिइने तालिमले मानिसहरूमा 'मैले पनि कसैको ज्यान जोगाउन सक्छु' भन्ने आत्मविश्वास जगाएको छ। यसले स्वास्थ्य प्रणालीलाई मात्र बलियो बनाएको छैन, बरु समुदायमा सामाजिक उत्तरदायित्वको भावना पनि विकास गरेको छ।
बेलायतमा पब्लिक एक्सेस डिफिब्रिलेटर सम्बन्धी स्पष्ट र बलियो नीति भए तापनि सबै सार्वजनिक स्थानमा एईडी राख्नैपर्ने गरी कुनै कठोर कानुन भने छैन। तर, स्वास्थ्य नीति र सार्वजनिक सुरक्षाको पाटोबाट यसलाई अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। हेल्थ एन्ड सेफ्टी एक्ज्युटिभ अन्तर्गतका रोजगारदाता र संस्थाहरूले आफ्नो कार्यस्थलको जोखिम मूल्याङ्कन गर्नुपर्ने हुन्छ, र जहाँ कार्डियक अरेस्टको जोखिम वा भीडभाड बढी हुन्छ, त्यहाँ एईडी राख्नुलाई एक उत्कृष्ट अभ्यासका रूपमा सल्लाह दिइन्छ।
यति धैरे प्रगति हुँदाहुँदै पनि केही चुनौतीहरू अझै कायमै छन्। करिब ८० प्रतिशत कार्डियक अरेस्टका घटनाहरू घरभित्रै हुने गर्छन्, जहाँ तुरुन्तै एईडी पाउन निकै गाह्रो हुन सक्छ। त्यसैले, केवल सार्वजनिक स्थानमा मात्र उपकरण राख्नु पर्याप्त हुँदैन भन्ने कुरा अहिले प्रष्ट हुन थालेको छ। तथ्याङ्कले के देखाउँछ भने, जहाँ समयमै एईडी को प्रयोग हुन पाउँछ, त्यहाँ बाँच्ने सम्भावना सामान्य अवस्थाको तुलनामा ३ देखि ५ गुणाले बढी हुन्छ। तैपनि, उपकरण नजिक नहुनु वा मानिसहरूले प्रयोग गर्न हिचकिचाउनु जस्ता कारणले गर्दा अहिलेसम्म १० प्रतिशतभन्दा कम घटनामा मात्र एईडी प्रयोग हुन सकेको छ।
प्रविधिको विकाससँगै अब स्मार्टफोन एपहरू मार्फत नजिकै रहेका एईडी उपकरणहरू कहाँ छन् भनेर पत्ता लगाउन सकिने नयाँ प्रणाली पनि आएको छ। यसले आपत्कालीन अवस्थामा मानिसहरूलाई छिटो उपकरणसम्म पुग्न मद्दत गर्छ। बेलायतले यस्ता डिजिटल समाधानहरूलाई आत्मसात् गर्दै आफ्नो सेवालाई अझ प्रभावकारी बनाउने प्रयास गरिरहेको छ।
बेलायतको कानुनले कुनै व्यक्तिको ज्यान जोगाउन सद्भावपूर्ण र इमानदार प्रयासका साथ सीपीआर वा एईडी प्रयोग गर्ने व्यक्तिलाई विशेष सुरक्षा दिएको छ। यदि यस्तो प्रयास गर्दागर्दै बिरामीको मृत्यु भयो भने पनि उद्धारकर्तालाई कानुनी कारबाही गरिँदैन। 'Social Action, Responsibility and Heroism Act 2015' ले समाजको हितका लागि वीरतापूर्वक सहयोग गर्ने व्यक्तिलाई कानुनी कवच प्रदान गर्दछ। यसमा अदालतले नतिजाभन्दा पनि व्यक्तिको नियत र उनले गरेको उचित प्रयासलाई बढी महत्त्व दिन्छ। तर, यदि कसैले जानाजानी हानि पुर्याउने वा एकदमै लापरवाही गर्ने उद्देश्यले काम गरेको पाइएमा भने उसले कानुनी जवाफदेही हुनुपर्ने हुन्छ।
कार्डियक अरेस्टको उपचारमा 'गोल्डेन आवर' भन्दा पनि 'गोल्डेन मिनेट' को महत्त्व धेरै हुन्छ। मुटु बन्द भएको पहिलो केही सेकेन्ड र मिनेटभित्रै गरिने उपचारले नै जीवन र मृत्युको फैसला गर्छ। त्यसैले, एईडीलाई एउटा मेसिनका रूपमा मात्र नभई जीवन जोगाउने एक शक्तिशाली अस्त्रका रूपमा हेर्नुपर्छ। प्रविधि, नीति र जनचेतनाको सही तालमेल मिलाएर बेलायतले जुन बाटो रोजेको छ, त्यो अन्य राष्ट्रहरूका लागि पनि एउटा प्रेरणाको स्रोत हुन सक्छ।
-(लेखक सुरेन्द्र नेपाल श्रेष्ठ हाल: युकेमा छन्।)