काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को स्वास्थ्य तथा विज्ञान समितिको सभापति पदको जिम्मेवारी नेपाल औषधी उत्पादक संघ (एपोन) का अध्यक्ष एवं महासंघका नवनिर्वाचित कार्यसमिति सदस्य विप्लव अधिकारीले पाएका छन्।
महासंघको सचिवालयमा आयोजित एक कार्यक्रमका बीच महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अधिकारीलाई सो महत्त्वपूर्ण समितिको सभापति पदको कार्यभार ग्रहण गराएका हुन्।
पदभार ग्रहण गरेलगत्तै स्वास्थ्यखबरसँग संक्षिप्त प्रतिक्रिया दिँदै नवनिर्वाचित सभापति अधिकारीले देशकै अग्रणी निजी क्षेत्रको छाता संगठनभित्र अत्यन्तै संवेदनशील र महत्त्वपूर्ण मानिएको समितिको नेतृत्व पाउनु आफ्नो लागि गौरवको विषय भएको बताए। उनले यो जिम्मेवारी चुनौतीपूर्ण रहे पनि सबै सरोकारवालाहरूको सामूहिक प्रयासबाट नतिजामुखी काम गर्ने दृढता व्यक्त गरे।
'स्वास्थ्य तथा विज्ञान क्षेत्रको नेतृत्व गर्नु जति चुनौतीपूर्ण छ, यस क्षेत्रमा सुधारका काम गर्ने अवसरहरू पनि त्यत्तिको नै छन्,' अधिकारीले स्वास्थ्यखबरसँग भने, 'सबै सरोकारवाला निकाय, विज्ञ र व्यावसायिक व्यक्तित्वहरूको साथ तथा सहयोग लिएर हामी निजी क्षेत्र र राज्य दुवैले महसुस गर्ने गरी सकारात्मक परिणाम हाँसिल गर्नेछौँ।'
सभापति अधिकारीले आफ्नो कार्यकालमा स्वास्थ्य तथा विज्ञान क्षेत्रसँग सम्बन्धित नीतिगत अस्पष्टताहरूलाई चिर्ने, अनुसन्धानलाई प्रवर्द्धन गर्ने तथा स्वास्थ्य उद्योग र सेवा क्षेत्रको समग्र विकासमा रचनात्मक योगदान पुर्याउने उद्देश्य राखेको स्पष्ट पारे।
उनले स्वास्थ्य क्षेत्रमा ६५ प्रतिशत भन्दा बढी हिस्सा निजी क्षेत्रको रहेको उल्लेख गर्दै सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्नुपर्ने विषयमा जोड दिँदै यस क्षेत्रमा पनि काम अगाडि बढाउने जानकारी दिए।
एपोनको नेतृत्व गरिरहेका अधिकारीको आगमनसँगै महासंघले देशको औषधि उत्पादन, स्वास्थ्य प्रविधि र वैज्ञानिक अनुसन्धानका क्षेत्रमा सरकारसँग प्रभावकारी रूपमा लबिइङ गर्न सक्ने अपेक्षा स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूले राखेका छन्।