वीरगञ्ज- नेशनल मेडिकल कलेज, वीरगञ्जले चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि तथा शिक्षकहरूको व्यावसायिक क्षमता विकास गर्ने उद्देश्यले छदिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (एफडीटी) कार्यक्रम सुरु गरेको छ । असार ७ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रम चिकित्सा शिक्षा संस्थान (आईओएम), काठमाडौंको मेडिकल एजुकेसन विभागसँगको सहकार्यमा आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन समारोह नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शहनवाज अन्सारीको अध्यक्षतामा सम्पन्न भएका थिए भने चिकित्सा शिक्षा संस्थानका डिन प्रा. डा. मोहनराज शर्माले भर्चुअल माध्यमबाट विशेष अतिथिका रूपमा सम्बोधन गरेका थिए।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा. डा. सुरेश उप्रेतीले चिकित्सा शिक्षामा गुणस्तरीय अध्यापन र प्रभावकारी मूल्याङ्कन प्रणालीको महत्व दिनानुदिन बढ्दै गएको बताए । उनले शिक्षकहरूको क्षमता अभिवृद्धि बिना चिकित्सा शिक्षाको गुणस्तर सुधार सम्भव नहुने उल्लेख गर्दै यस्ता तालिम कार्यक्रमले शैक्षिक उत्कृष्टता हासिल गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
भर्चुअल सम्बोधनका क्रममा आईओएमका डिन प्रा. डा. मोहनराज शर्माले आधुनिक चिकित्सा शिक्षामा शिक्षकहरूको भूमिका केवल ज्ञान हस्तान्तरणमा सीमित नरही अनुसन्धान, नवप्रवर्तन तथा विद्यार्थी केन्द्रित शिक्षण पद्धतिमा केन्द्रित हुनुपर्ने बताए। उनले चिकित्सा शिक्षाका बदलिँदा आवश्यकता र अन्तर्राष्ट्रिय मापदण्डअनुसार शिक्षकहरूलाई निरन्तर अद्यावधिक गर्न आवश्यक रहेको धारणा राखे।
कार्यक्रमका अध्यक्ष तथा नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शहनवाज अन्सारीले संस्थाले गुणस्तरीय चिकित्सा शिक्षा प्रदान गर्ने लक्ष्यअनुरूप शिक्षक विकासलाई उच्च प्राथमिकतामा राखेको बताए। उनले दक्ष, सक्षम र जिम्मेवार स्वास्थ्यकर्मी उत्पादनका लागि योग्य तथा प्रशिक्षित शिक्षक अपरिहार्य रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जानकारी दिए ।
छ दिनसम्म सञ्चालन हुने तालिममा आधुनिक शिक्षण–सिकाइ विधि, विद्यार्थी मूल्याङ्कन तथा आकलन प्रणाली, पाठ्यक्रम व्यवस्थापन, अनुसन्धान तथा शैक्षिक उत्कृष्टता, चिकित्सा शिक्षामा व्यावसायिक विकासलगायत विषयमा प्रशिक्षण प्रदान गरिनेछ । तालिममा कलेजका विभिन्न विभागका संकाय सदस्य तथा स्वास्थ्य शिक्षा क्षेत्रसँग आबद्ध शिक्षकहरूको सहभागिता रहेको छ ।
कलेज प्रशासनका अनुसार यस कार्यक्रमले शिक्षकहरूबीच अनुभव आदानप्रदान, सहकार्य तथा नवीन शैक्षिक अभ्यास प्रवर्द्धन गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। साथै चिकित्सा शिक्षामा गुणस्तरीय शिक्षण वातावरण निर्माण गर्दै विद्यार्थीहरूको सिकाइ उपलब्धि सुधार गर्न पनि कार्यक्रम प्रभावकारी हुने विश्वास लिइएको छ।
नेशनल मेडिकल कलेजले पछिल्ला वर्षहरूमा शैक्षिक गुणस्तर, अनुसन्धान र क्षमता विकासलाई प्राथमिकतामा राख्दै विभिन्न शैक्षिक तथा व्यावसायिक विकास कार्यक्रम सञ्चालन गर्दै आएको छ। फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ कार्यक्रम पनि सोही अभियानअन्तर्गतको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।