चितवन- चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस भएको छ। स्वास्थ्य मन्त्री निकट स्रोतका अनुसार डा. अजयकुमार झा, डा. योगेन्द्र प्रसाद सिंह र डा. विजय चन्द्र आचार्यको नाम अध्यक्षका लागि सिफारिस भएको हो।
मन्त्रालयले सिफारिसमा परेका उम्मेदवारहरुको नाम भने गोप्य राखेको छ। सिफारिसमा परेका उम्मेदवारहरुको विषयमा मन्त्रालयमा अनौपचारिक रुपमा गुनासाहरु आउन थालेपछि नाम गोप्य राखिएको स्रोतले जानकारी दियो।
मन्त्रालयले सिफारिस गरेका उम्मेदवारहरू योग्यता, राजनीतिक अवसरवाद र 'आउटसाइडर' (बाहिरको व्यक्ति) भएको भन्दै विवाद र चर्चामा तानिएका छन्।
डा. झाको 'अनुभव र योग्यता' माथि प्रश्न!
सिफारिसमा परेका डा. अजयकुमार झाको क्यान्सर अध्ययनको अवधि र काम गरेको अनुभवको समयलाई लिएर स्वास्थ्य मन्त्रालयमा गुनासो पुगेको छ। डा. झाले भारतको चण्डिगढबाट हेमाटोलोजी (रगत सम्बन्धी क्यान्सर) मा डीएम अध्ययन गरेका थिए। उनले सन् २०१२ देखि २०१५ सम्म मात्रै क्यान्सरको विधामा अध्ययन गरेको र ऐनले तोकेको अनुभव नपुग्ने दाबी मन्त्रालयमा पुगेको गुनासोमा गरिएको छ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ अनुसार अध्यक्ष पदका लागि चिकित्साशास्त्रमा स्नातकोत्तर उपाधि प्राप्त गरी क्यान्सर रोगको क्षेत्रमा कम्तीमा १५ वर्षको अनुभव भएको हुनुपर्ने वा समग्र स्वास्थ्य क्षेत्रमा कम्तीमा २० वर्ष को अनुभव भएको हुनुपर्ने कानूनी प्रावधान छ। डा. झाको हकमा यो कानूनी मापदण्ड पूरा नहुने भन्दै उनको नाम सिफारिस सूचीमै राख्न नहुने दाबी स्रोतले गरेको छ।
डा झाले भने अफूले सन् २००६ मा नै एमडी सकेर काम सुरु गरेको र अध्यक्षका लागि तोकिएको सबै मापदण्ड पूरा भएको बताए। 'अस्पतालको अध्यक्षका लागि तोकिएको सबै क्राइटेरिया पूरा गरेको छु। क्यान्सर अस्पतालको विकास र विस्तारका लागि योजना बनाएर अगाडि बढेको समयमा केहीले अनावश्यक दुख दिन खोजेका मात्र हुन्। म सन् २००६ मै एमडी सकेर काम गरेको चिकित्सक हुँ,' उनले भने।
पार्टी बदल्न माहिर डा. आचार्य
सिफारिसमा परेका अर्का उम्मेदवार डा. विजय चन्द्र आचार्य पनि विगतदेखि नै विवादित छवि भएका व्यक्ति हुन्। उनी यसअघि अस्पतालको निर्देशक रहँदा खरिद प्रक्रिया लगायतका विभिन्न विषयमा विवादमा मुछिएका थिए।
त्यस्तै, डा. आचार्यको 'राजनीतिक ढुलमुले प्रवृत्ति' लाई लिएर अस्पतालका कर्मचारीहरूले तीव्र आलोचना गरेका छन्। कर्मचारीहरूका अनुसार विगतमा उनी अस्पतालको निर्देशक बन्ने समयमा 'म नेपाली कांग्रेसको हुँ' भन्दै हिँडेका थिए। पछि चितवनमा रेनु दाहालसँग नजिक भई पुनः निर्देशक पड्काउनका लागि 'म माओवादीमा प्रवेश गरेँ' भन्दै हिँडे। पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सम्मिलित सरकार बनेपछि भने उनी आफ्नो कित्ता परिवर्तन गरी 'म रास्वपामा प्रवेश गरेको छु' भन्दै हिँड्ने गरेको अस्पतालका कर्मचारीहरू बताउँछन्।
डा. सिंहको चर्चा
सिफारिसमा परेका तेस्रो उम्मेदवार डा. योगेन्द्र प्रसाद सिंह त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा ४६ वर्ष लामो समय काम गरेर अवकाश प्राप्त गरेका वरिष्ठ चिकित्सक हुन्। त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको सुरेश वाग्ले स्मृति क्यान्सर सेन्टर स्थापना गर्न र त्यसलाई सञ्चालनमा ल्याउन उहाँको ठूलो योगदान रहेको छ। उनी चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीको समयमा डा केसीका पक्षमा खुलेर समर्थन गर्ने चिकित्सक हुन्।
हालसम्म विवादमा नआएका र आफ्नो काममा इमान्दार भएर काम गर्ने उनको छबिका कारण क्यान्सर अस्पतालमा सिंह नै अध्यक्ष हुने चर्चा पनि मन्त्रालयमा चलेको छ। यद्यपि, उनी बीपी क्यान्सर अस्पतालभन्दा बाहिरको (आउटसाइडर) भएको भन्दै उनलाई अध्यक्ष बनाइएमा अस्पतालकै कर्मचारीहरूले विरोध गर्ने भन्दै मन्त्रालयमा अनौपचारिक सन्देश समेत पठाइसकेका छन्।
यसका साथै सिफारिसमा परेका डा झा पनि क्यान्सर अस्पताल भन्दा बाहिरको भन्दै उनको पनि विरोध हुने कर्मचारीहरुले बताएका छन्।
८ जनाको आवेदन परेको थियो
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गत वैशाख १५ गते अस्पतालको अध्यक्ष पदका लागि खुला आवेदन माग गरेको थियो। मन्त्रालयको सूचना अनुसार कुल ८ जनाले आवेदन दिएका थिए। तीमध्ये एक जनाको प्रक्रिया नपुगेको भन्दै मन्त्रालयले ७ जनाको प्रारम्भिक सूची (शर्टलिष्ट) सार्वजनिक गरेको थियो।
मन्त्रालयले प्रारम्भिक सूचीमा डा. झा, डा. आचार्य र डा. सिंहसहित डा. जया श्रेष्ठ, डा. भावना वाग्ले, डा. लक्ष्मी नारायण सिंह र डा. विश्वराम पौडेलको नाम सार्वजनिक गरेको थियो, जसमध्येबाट अहिले यी तीन जनाको नाम अन्तिम सिफारिसमा परेको हो।