काठमाडौं - राष्ट्रिय ट्रमा सेन्टर अस्पताल फार्मेसीमा कार्यरत तीन जना फार्मेसी सहायकलाई सेवाग्राहीबाट प्राप्त गुनासो, दर्ता भएका उजुरी तथा प्रारम्भिक अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा निलम्बन गरिएको छ।
अस्पताल प्रशासनले जारी गरेको सूचनाअनुसार सेवाग्राहीबाट आएका गुनासो र उजुरीमाथि गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा आरोपहरू पुष्टि भएको देखिएपछि उनीहरूलाई निलम्बन गरिएको हो।
घटनाबारे विस्तृत छानबिन गरी प्रतिवेदन पेश गर्नका लागि अस्पतालले एक छानबिन समिति समेत गठन गरेको जनाएको छ।
अस्पतालले सम्पूर्ण कर्मचारी तथा स्वास्थ्यकर्मीहरूको कार्यसम्पादन र गतिविधिमाथि सूक्ष्म रूपमा निगरानी भइरहेको उल्लेख गर्दै सबै कर्मचारी तथा स्वास्थ्यकर्मीलाई आफ्नो जिम्मेवारी इमान्दारी, पारदर्शिता तथा व्यावसायिक मर्यादाअनुरूप निर्वाह गर्न आग्रह गरेको छ।
अस्पताल प्रशासनले छानबिन समितिको प्रतिवेदनका आधारमा आवश्यक थप निर्णय लिइने जनाएको छ।